close

कर्मचारीमा कोरोना पुष्टिपछि धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका बन्द

कर्मचारीमा कोरोना पुष्टिपछि धादिङ अस्पताल र नीलकण्ठ नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

धादिङ - धादिङ जिल्लामा नागरिकको चहलपहल बढी हुने सरकारी कार्यालयमा कोरोना संक्रमण बढ्न थालेको छ । यस जिल्लामा कोरोना संक्रमणको जोखिम सबैभन्दा धेरै धादिङ अस्पतालमा देखिएको छ । 

 

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गत ७ असोजदेखि बन्द भएर १२ असोजमा खुलेको धादिङ अस्पतालको सेवा १६ असोजदेखि फेरि बन्द भएको छ । 


    
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझदेखि धादिङ अस्पतालले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा  सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए ।  


    
अस्पतालको आकस्मिक, ज्वरो क्लिनिक र प्रसूति सेवाबाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अध्यक्ष धमलाले बताए ।


    
यसैगरी जिल्ला सदरमुकामस्थित नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।  जिल्लामा एकै दिन २२ जनामा संक्रमण पुष्टि भएकामा नगरपालिकामा कार्यरत १४ जना कर्मचारी मात्र रहेका छन् । 

 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर महतले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण देखिएकाहरूको कन्ट्याक्ट ट्रेसिङ जारी रहेकाले उनीहरूको परीक्षण रिपोर्ट नआउँदासम्मका लागि नगरपालिकाको सेवा बन्द गरिएको जानकारी दिएका छन् ।


    
शुक्रबार धादिङको नीलकण्ठ नगरपालिकाका १५ जना, गल्छी गाउँपालिकाका दुई जना, थाक्रेका दुई जना, गजुरीका दुई जना र बेनिघाट रोराङका एक जना गरी २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । 


    
शुक्रवार थपिएका संक्रमितहरूमा नीलकण्ठ नगरपालिका वडा नं. ९ की २६ वर्षीया महिला दुई जना, २१ र २५ वर्षीय पुरुष, वडा  नं. ८ का १८ र ४३ वर्षीया महिला र ४८ वर्षीय पुरुष, वडा नं. ११ का ३७ वर्षीय पुरुष, वडा नं. ३ का २३ र ३३ वर्षीय पुरुष र ४८ वर्षीया महिला, ४३ र ४६ वर्षीय पुरुष, वडा नं. ४ का २८ वर्षीय पुरुष, वडा नं. ५ का २१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिए । 


    
यस्तै, थाक्रे गाउँपालिका वडा नं. ६ का २४ वर्षीया महिला र ३२ वर्षीय पुरुष, गल्छी– ६ का २७ र ३६ वर्षीय पुरुष, गजुरी- २ का ३४ वर्षीय पुरुष र वडा नं. ६ का ५१ वर्षीय पुरुष र बेनिघाट रोराङ– ७ का २४ वर्षीया महिला रहेको रिजालले बताए । 

 

यससँगै धादिङमा जम्मा संक्रमितको संख्या ४६८ पुगेको छ । संक्रमितमध्ये शुक्रबारसम्ममा २९३ जना निको भएर घर फर्किसकेका छन् । संक्रमणबाट जिल्लामा चार जनाको ज्यान गइसकेको छ । 


    
जिल्लाका १३ वटै स्थानीय तहमा कोरोना संक्रमितहरू भेटिएका छन्, जसमा नीलकण्ठ नगरपालिकामा १२३ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७३  जना, गल्छी गाउँपालिकामा ७२ जना र ज्वालामुखी गाउँपालिकामा ४६ जना रहेका छन् ।

 

यस्तै, थाक्रेमा ३५ जना, धुनीबेसीमा २३ जना, बेनिघाट रोराङमा १७ जना, गंगाजमुना र गजुरीमा १६÷१६ जना, सिद्धलेकमा १५ जना, नेत्रावती डबजोङमा १२ जना, खनियावासमा पाँच जना, रुविभ्यालीमा दुई जना, धादिङ घर भएका तर अन्य ठेगाना नखुलेका आठ जना, धादिङ अस्पतालका सात जना र स्वास्थ्य कार्यालय धादिङका दुई जना गरी ४६८ जनामा अहिलेसम्म संक्रमण पुष्टि भइसकेको  स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट रिजालले बताए ।

 

जिल्लामा पहिचान भएका संक्रमितमध्ये ३०२ जनाको धादिङमा स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र बाँकी १६६ जनाको भने जिल्लाबाहिर गएर स्वाब परीक्षण गराउँदा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।