close

पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

पाटन अस्पताललाई ललितपुर महानगरको १ करोड सहयोग

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड रुपैयाँ प्रदान गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले मंगलबार पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई चेक हस्तान्तरण गरे । चेक हस्तान्तरणअघि नगरप्रमुख महर्जन र शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

 

कार्यक्रममा प्रमुख महर्जनले कोभिडका बेला पाटन अस्पतालले उत्कृष्ट काम गरेको बताउँदै त्यसको सम्मान गर्न सहयोग गरिएको जानकारी दिए । पाटन अस्पताल ललितपुर महानगरभित्र रहेको बताउँदै उनले भने, ‘नेपाल सरकारले अन्य स्थानीय तहलाई अस्पताल बनाउन आर्थिक सहयोग गर्दा ललितपुर महानगरलाई सहयोग गरेन । सरकारले सहयोग नगरे पनि स्वास्थ्य सेवा पु¥याइरहेको पाटन अस्पताललाई हामीले अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग गरेका हौँ ।’

 

नगरप्रमुख महर्जनले पाटन अस्पताल महानगरको आफ्नै अस्पताल भएको बताउँदै सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘यो सहकार्यको प्रस्थान बिन्दु हो ।’ पाटन अस्पताल ललितपुरबासीको मात्रै संस्था नभएको र यसले ७७ वटै जिल्लाका सर्वसाधारणलाई उपचार गरिरहेकामा खुसी लागेको प्रमुख महर्जनले बताए ।

 

महानगरका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल महानगरको गहना भएको बताउँदै यहाँ मुलुकका उच्चदेखि निम्न वर्गले सर्वसुलभ ढंगबाट उपचार गर्न सक्ने बताइन् । अस्पताललाई महानगरले गरेको सहयोगले इँटा थपेको उनको भनाइ छ । 

 

अस्पतालका निर्देशक डा. रवि शाक्यले पाटन अस्पतालले मुख्य गरी कोभिडका बेला गरेको कामलाई ललितपुर महानगरले सम्मान गरेको बताउँदै यसले थप हौसला मिलेको जिकिर गरे । उनले भने, ‘उपहार भनेको सानो-ठूलो हुँदैन । त्यहाँ मूल्यको कुरा हुँदैन । त्यसको अलगै अर्थ हुन्छ । राम्रो काम गरेर स्यावासी पाएको रूपमा लिएको छु ।’

 

यो स्वास्थ्य क्षेत्र र स्थानीय तहबीच गर्न सकिने सहकार्यको राम्रो उदाहरण भएको निर्देशक डा. शाक्यले बताए । यसको अनुकरण अन्यत्र पनि हुनुपर्ने धारणा उनको छ । सीमित स्रोत-साधनमा चलेको अस्पताल भए पनि कोभिडका संक्रमित धेरै आएका बेला १० वर्ष पुरानो अक्सिजन प्लान्ट बिग्रेकाले अक्सिजन सिलिन्डर खरिद गर्नु परेको डा. शाक्यले जानकारी दिए । 

 

उनले भने, ‘दिनमा ३ सय वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । मासिक ३० लाख रुपैयाँसम्मको अक्सिजन सिलिन्डर खरिद गरेका थियौँ । अहिले पनि खरिद गरेरै चलाइरहेका छौँ । डा. शाक्यले असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २४ का वडाध्यक्ष दिनेश कार्कीले पाटन अस्पतालले कोभिड संक्रमितका बिरामीको उपचारमा प्रशंसनीय काम गरेको बताए । उनले पाटन अस्पतालमा ७७ जिल्लाका सर्वसाधारण उपचार गर्न आउने भएकाले महानगरले सहयोग गरेको स्पष्ट पारे ।

 

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर इम्रान अन्सारी, प्रशासकीय अधिकृत तीर्थराज भुजेल, लीलाराज भुजेलसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत विण्णुप्रसाद कोइराला, २९ वटै वडाका वडाध्यक्षलगायत सहभागी थिए ।