रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई तत्काल विस्तार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् ।
फार्मेसी सुविधायुक्त हुन नसक्दा अस्पताल आउने बिरामीले निजी औषधी पसलबाट महँगोमा औषधी किन्नुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल फार्मेसी सेवालाई विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पताल आउने बिरामीको समस्या समाधान नहुने बताउँदै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । ‘पछिल्लो समय अस्पतालको सेवा विस्तारै सुध्रिँदै गएको गएको छ तर उपचार राम्रो भएर पनि बिरामी औषधी किन्न निजी क्लिनिकमा भौतारिनुपर्ने बाध्यता हटेकाले यसलाई छिटोभन्दा छिटो समाधान गर्नेतर्फ लाग्नस्’, मुख्यमन्त्री पोखरेलले निर्देशन दिए ।
उनले प्रदेश सरकारले जनताको मनोविज्ञानमा परिवर्तन ल्याउने चिकित्सक र नर्सको क्षमता बढाउन नियमित तालिम दिँदै आएकालदे सेवालाई स्तरीय बनाउन अस्पताल प्रशासनसँग आग्रह गरे ।
नागरिकको स्वास्थ्योपचार पाउने अधिकार भएकाले समयमै उपचार पाउने हकको सुनिश्चितता गर्न अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उनेका भनाइ छ । मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइरहेको उल्लेख गरे । बिमा गरिएका बिरामीहरू उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य अब प्रादेशिक अस्पतालले गर्नुपर्ने उनले बताए ।
प्रदेशको गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको लुम्बिनी प्रादेशिक अस्पतालको डिपिआरको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा हाल ५ बेडको आईसियू र ५ बेडको क्याबिन रहेकामा आगामी वैशाखदेखि बढाएर ५०/५० बेड पुर्याइने योजना रहेको बताए ।
हाल ५ वटा डायलाइसिस मेसिनमार्फत मिर्गाैलाका बिरामीको उपचार भइरहेकामा १२ वटा मेसिन थपेर सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए । ‘कोभिड–१९ को समय अस्पतालका सफाइकर्मीको १० प्रतिशत र इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीको २५ प्रतिशत तलब थप गरेका छौँ’, उनले भने ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले अस्पतालमा कार्यरत एक तिहाइ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कोरोनाबाट संक्रमित भए पनि सेवा सुचारु गरिएको बताए ।
खनालले गत वर्ष इमर्जेन्सीमार्फत ५४ हजार ३ सय ५२, ओपिडीमार्फत १ लाख ४३ हजार ४ सय २६, भर्ना गरिएका १९ हजार ४ सय ९६ र सुत्केरी सेवा ११ हजार २ सय १८ जनालाई दिइएको उनले तथ्यांक प्रस्तुत गरे ।