close

पश्चिम नवलपरासीमा आइसोलेसन शय्या बढाइँदै

पश्चिम नवलपरासीमा आइसोलेसन शय्या बढाइँदै

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीमा अक्सिजनसहितको आइसोलेसनको बेड संख्या ९० पुगेको छ । जिल्लाका ७ वटा पालिकाका आइसोलेसनमा बेड क्षमता ९० पुर्‍याइएको हो । 

 

बेड क्षमता थप गर्दै जाने पालिकाहरूले योजना छ । जिल्लाको सुनवल नगर र रामग्राम नगरपालिकाले २०/२० क्षमताको आइसोलेसन बनाएका छन् । रामग्रामले पाल्ही बहुमुखी क्याम्पस र सुनवल नगरले सोमनाथको बालमैत्री सिकाइ केन्द्र भवनमा आइसोलेसन सेन्टर बनाएका हुन् ।


सुनवल नगरपालिकाका सिनियर अहेब चुडामणि नेपालका अनुसार नगरले होम आइसोलेसनमा बसेका संक्रमितका लागि निःशुल्क अक्सिजनको व्यवस्था गरेको छ ।

 

पाल्हीनन्दन गाउँपालिकाले ५ बेड क्षमताको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको जनाएको छ । थप ५ बेड निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

 

बर्दघाट नगरपालिकाले वडा नम्बर २ चिसापानीमा १० बेड क्षमताको आइसोलेसन सेन्टर बनाएको छ भने थप १० बेडको तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए ।

 

सुस्ता गाउँपालिकाले वडा नम्बर ५ पक्लिहवाको स्वास्थ्य चौकीमा १५ बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सरावल गाउँपालिकाले वडा नम्बर ५ धनगडवामा ५ शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार पारेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले बताए ।

 

प्रतापपुर गाउँपालिकाले त्रिभुवन मावि बेलाटारीमा १५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण सुरु गरेको छ । 


एकै दिन १४६ जनामा संक्रमण

 

जिल्लामा एकै दिन १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पुरुष ७२ र महिला ५६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले बताए ।

 

उनका अनुसार पिसिआर परीक्षणबाट ८९ र एन्टिजिनबाट ६० जनामा संक्रमण पुष्टि भएको हो । बर्दघाट नगरपालिकामा ३८ जना, सुनवलमा २८, प्रतापपुर गाउँपालिकामा २५, सरावलमा २३, रामग्राममा २१, पाल्हीनन्दनमा ७ र सुस्तामा ५ जनामा कोरोना पोजिटिभ आएको छ ।

 

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २४८१ पुगेको छ । जिल्लाभित्र ९ सय ५७ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । शनिबार रामग्राम नगरपालिकाबाट ३८ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण लागि पठाइएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

 

शनिबार जिल्लामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिकाका १ जना, बर्दघाटनका २ जना र सुस्ता गाउँपालिकाका १/१ जना संक्रमितको मृत्यु भएको हो । जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।