खोटाङ- कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले कार्य विभाजन गरेको छ । कोभिड-१९ नियन्त्रण अभियानलाई सहज र प्रभावकारी बनाउन गाउँपालिकाले चालकदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र जनप्रतिनिधिबीचमा जिम्मेवारी बाँडफाँट गरेको हो ।
गाउँपालिकाले पिसिआर परीक्षणका लागि स्वाब संकलन, एन्टिजेन टेस्ट तथा कोभिड बिरामीका लागि अक्सिजन र आइसोलेसन व्यवस्थापन गर्न प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कका डा. टेकनारायण श्रेष्ठ, ल्याबका उमेश आचार्य र स्वास्थ्य संयोजक रामकाजी नेपाललाई जिम्मेवारी दिएको छ ।
यस्तै, कोभिडसम्बन्धी परामर्श सेवा लिन, होम आइसोलेसन तथा उपचार सेवासम्बन्धी सेवाका लागि डा. श्रेष्ठ, सिनियर अहेब निर्मला शर्मा, सिनियर अनमी सर्किनी शेर्पा र अहेब विमल राजभण्डारीलाई जिम्मेवारी तोकिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
गाउँपालिकाभित्र क्वारेन्टाइनमा बस्न र कन्ट्याक्ट ट्रेसिङ गर्न स्थानीयीसँग समन्वय, सहजीकरण एवं सोधपुछका लागि स्वास्थ्य शाखा प्रमुख नेपाल र ७ वटै वडाका वडाध्यक्षलाई सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, गर्भवती, सुत्केरी र अन्य आकस्मिक बिरामीले सेवा लिन र अस्पताल जानुपरे स्वास्थ्य शाखा प्रमुख नेपाल, सिनियर अनमी शेर्पा, अनमी टेनिसा राई, अनमी प्रियंका राई र एम्बुलेन्स चालक हरिनारायण राईलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
दीर्घ रोगीलाई औषधी सेवन गर्न समस्या भए डा. श्रेष्ठ, सिनियर अहेब शर्मा, अहेब नारायण श्रेष्ठ र अहेब विमल राजभण्डारीलाई सम्पर्क गर्न भनिएको छ ।
यस्तै, शान्ति-सुरक्षा, भीडभाड नियन्त्रण र सवारी साधन व्यवस्थापनको जिम्मा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रहरी निरीक्षक राजेन्द्रकुमार पौडेललाई र विद्यालय व्यवस्थापन, वैकल्पिक सिकाइ सहजीकरणको जिम्मा शिक्षा अधिकृत बिनेश श्रेष्ठलाई दिइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
गाउँपालिकाको आवश्यक प्रशासनिक, प्राविधिक तथा आर्थिक कार्य सहजीकरणका लागि प्रशासन तथा योजना अधिकृत नवराज खत्री, इन्जिनियर बाबुराम राउत र लेखा प्रमुख पंकज आचार्यलाई जिम्मेवारी तोकिएको छ ।
कोभिड-१९ विरुद्धको समग्र व्यवस्थापन र जवाफदेही व्यक्तिका रूपमा गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई तोकिएको छ ।
नियमित खोप सेवा स्थगित
कोभिड-१९ को महामारीका कारण एेँसेलुखर्क गाउँपालिकाको नियमित खोप सेवा स्थगित भएको छ । हरेक महिनाको १०, ११ र १२ गते सञ्चालन हुँदै आएको नियमित खोप सेवा कोभिड-१९ महामारीका कारण स्थगित गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामकाजी नेपालले शनिबार सूचना जारी गर्दै वडा कार्यालय र स्वास्थ्य संस्थालाई नियमित खोप सेवा स्थगित गरिएको जानकारी दिएका हुन् ।