close

अक्सिजन सिलिन्डरमै ब्रह्मलुट : १२ केजीको तौल हुनुपर्नेमा ५ केजी बनाएर बेचिँदै  

अक्सिजन सिलिन्डरमै ब्रह्मलुट : १२ केजीको तौल हुनुपर्नेमा ५ केजी बनाएर बेचिँदै  

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङमा ल्याइने गरेको अक्सिजन सिलिन्डरमा तोकिएभन्दा कम तौल हुने गरेको अनुगमनका क्रममा फेला परेको छ ।कोरोनाका बिरामीलाई अत्यावश्यक भएपछि दैनिक पोखराबाट भरेर ल्याउँदा कम तौल भरिएको भेटिएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

 

शंका लागेपछि जिल्ला प्रशासन, बागलुङ नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च र स्वास्थ्य कार्यालयसमेतको अनुगमनले उक्त कमजोरी भेटाएको हो । 
 

 

१२ केजी अक्सिजन हुनुपर्ने सिलिन्डरमा ५ केजीसम्म थोरै भरेर पठाउने गरेको भेटिएको श्रेष्ठले बताए । कम अक्सिजन भएपछि अड्कलेको समय नपुग्ने र बिरामीको मृत्युसमेत हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अक्सिजन सप्लायर्स तथा कम्पनीमा स्पष्टीकरण सोध्ने तयारी भएको बताए ।
 

 

बागलुङमा आउने अक्सिजन पोखरास्थित अन्नपूर्ण सर्जिकलले ल्याउने गरेको छ । अन्नपूर्ण सर्जिकलका डिलर युवराज पुनले भने आफूले जोखेर नभई तयार पारेको सिलिन्डर ल्याएर दिने गरेको जानकारी दिए । कालीगण्डकी अक्सिजन प्रालिमार्फत सर्जिकलले अक्सिजन भरेर ल्याउने गरेको छ । 
 

 

कम तौलको अक्सिजनले थोरै समय मात्रै धान्ने भएपछि बिरामीको ज्यान जाने खतरा हुने स्वास्थ्यकर्मीले बताए । ‘हाइ फ्लो अक्सिजन दिनुपर्छ । त्यस्तो बेला थोरै रहेछ भने अड्कल हुँदैन,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘३ घन्टा पुग्छ भनेर छाडियो । १ घन्टामै सकियो भने बिरामीको ज्यान जान सक्छ ।’ 

 

अस्पतालमा दैनिक १०० बढी सिलिन्डर खाली हुँदा पोखरा लगेर भर्दै ल्याउने गरिएको छ । संकटका बेला अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री समेतमा कालोबजारी भइरहेको भेटिएको श्रेष्ठले बताए । अक्सिमिटरलाई उपभोक्ताले ५ हजार रुपैयाँसम्म तिरेको भेटिएकाले महँगो मूल्य लिने व्यापारीको खोजी भइरहेको उनले जानकारी दिए । अक्सिमिटर १५०० रुपैयाँमा पाइने गरेकामा मनलाग्दी मूल्य राखेर बेच्ने गरिएको
हो । अन्य स्वास्थ्य सामग्रीमा पनि मनलाग्दी गरेर बेच्ने क्रम बढेकाले प्रशासनले निगरानी बढाउन थालेको छ ।

 

 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री

 

बागलुङको ढोरपाटन नगरपालिका बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नेपाली हेरिटेज च्यारिटी फाउन्डेसन अफ बिसीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न फाउन्डेसनका प्रतिनिधि जित शेरचनले ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

रोजगारीको सिलसिलामा क्यानाडामा बसोबास गर्ने फाउन्डेसनका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोगमा करिब ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री केन्द्रलाई उपलब्ध गराइएको शेरचनले जानकारी दिए । फाउन्डेसनले ढोरपाटन कोभिड अस्पताललाई ३ थान कन्सटे«टर, अक्सिमिटर २५ थान, ४ हजार सर्जिकल मास्क, २० लिटर स्यानिटाइजर, ८ सय थान सिटामोला र बिरामीका लागि १५ थान तन्ना हस्तान्तरण गरेको हो ।