close

बाजुराका गाउँ-गाउँमा बढाइँदै कोरोना परीक्षण 

बाजुराका गाउँ-गाउँमा बढाइँदै कोरोना परीक्षण 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा न्यून मात्रामा हुँदै आएको कोरोना परीक्षणको दायरा बढाइने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहका गाउँ-गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणका बिरामी रहे पनि पोजेटिभ देखिने डरले स्वास्थ्य संस्था नजाने अवस्था देखिएपछि गाउँ-गाउँ र टोल-टोलमै गएर परीक्षण गरिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।

 

यसभन्दा पहिला एन्टिजेन किट अभाका कारण स्वास्थ्य संस्था आएर कोरोनाको लक्षण देखिएका बिरामीलाई सीमित मात्र परीक्षण गर्ने गरिएको थियो । अब यसलाई बढाउँदै सबै पालिकाका गाउँमै स्वास्थ्यकर्मी पठाएर परीक्षण गरिने पन्तले बताए । जिल्लामा संघ र प्रदेशबाट ३ हजार २ सय एन्टिजेन किट बाजुरा पुुगेकाले शनिबारदेखि ९ वटै पालिकामा वितरण गरिएको छ ।


 
शनिबार पूूर्वी उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकामा ५ सय, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा ३ सयका दरले किट पठाइसकेको पन्तले जानकारी दिए ।

 

‘जिल्लाका तल्लो क्षेत्रका बूढीगंगा, बडिमालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह र गौमूल गाउँपालिकामा आइतबार किट पठाउने तयारी भइरहेको छ’, वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले भने ।
 


एन्टिजेट किट लिएर स्वास्थ्यकर्मी घर-घर जान सम्भव नभए पनि टोल-टोलमा गएर परीक्षण व्यवस्थाका लागि पालिकाका स्वास्थ्य संयोजकसँग समन्वय भएको पन्तले सुनाए ।


 
कोरोना परीक्षण गर्दा संक्रमित भएका बिरामीको अवस्था हेरी होम आइसोलेसन, स्थानीय तहका कोभिड अस्पताल र सो ठाउँमा पनि उपचार सम्भव नदेखिए जिल्ला अस्पताल पठाउन सुझाव दिएर टोल-टोलमा स्वास्थ्यकर्मी खटाइएको पन्त बताउँछन् ।