close

त्रिवेणी नगरपालिकाले बनायाे काेराेना अस्पताल 

त्रिवेणी नगरपालिकाले बनायाे काेराेना अस्पताल 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको त्रिवेणी नगरपालिकाले कोभिड-१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाको केन्द्रमा ९ बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याइएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले जानकारी दिए ।


दोस्रो भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रत्येक स्थानीय तहमा अस्थायी कोरोना अस्पताल निर्माण गर्न विशेष अनुुदान उपलब्ध गराएपछि त्रिवेणी नगरपालिकाले पनि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको शाहले बताए ।


 
अस्पतालको नगरप्रमुख रामसिंह रावलले उद्घाटन गरे । अस्पताल १ जना डाक्टर, २ जना स्टाफ नर्स र ल्याबसहित सञ्चालनमा आएको छ । एक्सरे सेवाका लागि पहल भइरहेको उनले बताए ।


‘थप स्वास्थ्य सामग्री व्यवस्था गर्न विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत शाहले भने । अक्सिजन व्यवस्थापनका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत अन्य संघ-संस्थासँग समन्वय भइरहेको उनले जानकारी दिए ।


नगरपालिकाले पनि अक्सिजन खरिदका लागि प्रक्रिया अगाडि बढाएको बताएको छ । नगरपालिकामै डाक्टरसहितको अस्थायी कोभिड १९ अस्पताल सञ्चालनमा आएपछि नगरबासी खुसी भएका छन् ।


नगरपालिमामा अस्पताल नहुँदा सामान्य उपचारका लागि जिल्ला सदरमुकाम तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुनेछ ।