close

कोरोना संक्रमितलाई थप उपचारका लागि निःशुल्क हेलिकोप्टर व्यवस्था गर्न नगरपालिकाको माग

कोरोना संक्रमितलाई थप उपचारका लागि निःशुल्क हेलिकोप्टर व्यवस्था गर्न नगरपालिकाको माग

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका संक्रमितलाई अस्पताल लैजान निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको छ ।

 

कोभिड–१९ को संक्रमणका कारण सिकिस्त अवस्थामा पुगेका संक्रमितले कम्तीमा साढे ३ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्न बाध्य भएको भन्दै नगरपालिकाले तत्काल अस्पताल लैजानुपर्ने र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पु¥याउन सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको व्यवस्था गर्न माग गरेको हो ।

 

नगरप्रमुख दीपनारायण रिजालले आइतबार प्रधानमन्त्रीलाई पत्र पठाउँदै जिल्लाबाट अन्यत्रका अस्पतालमा जानका लागि हेलिकोप्टर चार्टर शुल्क अत्यधिक महँगो भएकाले क्रिटिकल अवस्थाका बिरामीलाई निःशुल्क हेलिकोप्टर व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।

 

गम्भीर अवस्थाका बिरामी बोक्न ‘नम्र्स’ बनाएर संघीय वा प्रदेश सरकारमार्फत निःशुल्क हेलिकोप्टर चार्टरको व्यवस्थाका लागि आग्रह गरिएको नगरप्रमुख रिजालले जानकारी दिए ।

 

गत १५ जेठमा वडा नम्बर १ दिक्तेलका ७८ वर्षीय संक्रमित वृद्धालाई ३ लाख ५० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको छ । यस्तै, १० जेठमा दिक्तेलकै ६४ वर्षीय पुरुषलाई ३ लाख ५० हजार र गत ५ जेठमा ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ का एकै परिवारका ३ जना संक्रमितलाई ३ लाख २० हजार रुपैयाँमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।

 

अन्य किसिमका रोग लागेका बिरामी वा घाइतेलाई काठमाडौं लैजाने क्रममा पनि कम्तीमा २ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । अस्पताल पुग्न हेलिकोप्टर चार्टर गर्ने आर्थिक अवस्था सबै संक्रमितको हुँदैन । हेलिकोप्टर चार्टर गर्न नसक्ने अवस्थाका संक्रमित थप पीडामा छन् ।

 

पछि स्वास्थ्यमा जटिल समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने अवस्था आउने त्रासमा कतिपय संक्रमित धमाधम काठमाडौं, विराटनगरलगायत अस्पतालमा जान थालेकाले सरकारसमक्ष निःशुल्क हेलिकोप्टर सेवाको माग गरिएको नगरप्रमुख रिजालले बताए ।

 

‘अहिले संक्रमितले हेलिकोप्टर चार्टरमा साढे ३ लाख रुपैयाँ शुल्क तिरिरहनु परेको छ । सबैको हेलिकोप्टर चार्टर गर्न सक्ने अवस्था छैन । पछि समस्या भइहाल्यो भने हेलिकोप्टर चार्टर गर्न सकिन्न । पैसा तिर्न सकिन्न । हाम्रो ज्यान जान्छ भनेर संक्रमितहरू पहिल्यै गाडीमार्फत काठमाडौं र विराटनगर गइरहेका छन्,’ रिजालले भने, ‘त्यही भएर जिल्ला अस्पतालबाट रेफर भएकामध्ये क्रिटिकल अवस्थामा रहेका र तत्काल उद्धार गर्नुपर्ने कोभिड संक्रमित बिरामीको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्थाका लागि आग्रह गरेका हौँ ।’

 

नगरपालिकाले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मुख्यामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ र सामाजिक विकास मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिइएको जनाएको छ ।

 

भविष्यमा स्वास्थ्यमा समस्या आउने र हेलिकोप्टर चार्टर गर्नुपर्ने त्रासमा नगरपालिकाका संक्रमित पहिल्यै अस्पताल पुग्न बाध्य छन् । हालसम्म ८ जना संक्रमितलाई नगरपालिकाकै गाडीमा हालेर अस्पताल पु¥याइएकामा ३ जना निको भएर फर्किइसकेको नगरप्रमुख रिजालले बताए ।