close

मैकोटबासीले अस्वीकार गरे कोरोना परीक्षण

मैकोटबासीले अस्वीकार गरे कोरोना परीक्षण

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटबासीले कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन परीक्षण अस्वीकार गरेका छन् । सामान्य अवस्थाका व्यक्तिलाई परीक्षण गर्दा कोरोना देखिए पनि औषधोपचार नहुने हुँदा मैकोटबासीले कोरोना परीक्षण अस्वीकार गरेका हुन् । 

 

कोरोना भाइरस भए–नभएको पत्ता लगाउन पुथाउत्तरगंगाको वडा नम्बर १ मैकोटबासीले परीक्षण गर्न नमानेपछि गाउँपालिकाको दुर्गम बस्ती मैकोटमा पुगेका स्वास्थ्यकर्मीको टोली सोमबार पालिका मुकाम फर्किएको छ । 

 

गाउँमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने बिरामी बढिरहेको खबर पाएपछि गाउँपालिकाका स्वास्थ्य संयोजक समीर गिरीसहितको टोली मैकोट पुगेको थियो । स्वास्थ्यकर्मी १६ जेठमा मैकोटमा पुगेर २० जनामा परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको थियो । 

 

तर, ५० जनाको परीक्षण गर्ने गरी मैकोट पुगेको १ जना डाक्टर, १ जना ल्याब असिस्टेन्टसहितको टोलीले मैकोटबासीले परीक्षण अस्वीकार गरेपछि बिनापरीक्षण फर्किएको गिरीले बताए । 

 

१६ जेठमा परीक्षण गर्दा ७ जनालाई कोरोना पुष्टि भएको र थप ज्वरोका लक्षण भएकालाई १७ जेठमा परीक्षण गर्न लाग्दा समुदायले नै अस्वीकारेपछि आफूहरू गाउँपालिका फर्किनुपरेको स्वास्थ्य संयोजक गिरीको भनाइ छ । 

 

स्थानीय धलबहादुर पुन मगरका अनुसार कोरोना पुष्टि भए पनि उचित औषधोपचार नहुने भएकाले कोरोना परीक्षण अस्वीकार गरिएको हो । परीक्षणपछि पुष्टि भए उल्टै मानसिक तनाव हुने भएका कारण ज्वरोको लक्षण भएकाले आफंै स्थानीय स्वास्थ्यकर्मीको सल्लाहबमोजिम परिवारबाट छुट्टै बस्ने गरेको बताए । 

 

२ साताअघिसम्म हरेक घरमा ज्वरोका लक्षण देखिएका बिरामी थिए । तर, हाल उक्त संख्या कम हुँदै गएको छ । परीक्षण नगर्ने तर आफंै सजग भएर बस्ने मैकोटबासीको भनाइ छ ।