close

टोल–टोलमा एन्टिजेन परीक्षण गर्दै साकेला सरकार

टोल–टोलमा एन्टिजेन परीक्षण गर्दै साकेला सरकार

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले एन्टिजेन परीक्षणको दायरा बढाउने तयारी गरेको छ ।समुदाय स्तरमा संक्रमण फैलिइसकेकाले स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा स्वास्थ्यकर्मीमार्फत एन्टिजेन परीक्षण र संक्रमित पहिचानको निर्णय गरेको हो । 

 

एन्टिजेन परीक्षणका क्रममा भेटिएका संक्रमितलाई कम्तीमा १४ दिन सम्बन्धित वडाले तोकेको क्वारेन्टाइनमा बस्ने÷बसाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

 

यस्तै, गाउँपालिकाभन्दा बाहिरका संक्रमित क्षेत्रबाट पालिका प्रवेश गर्ने व्यक्तिलाई पनि वडाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । गाउँपालिका प्रवेश अगाडि सम्बन्धित वडाका वडाध्यक्षलाई सम्पर्क गर्नू भनिएको छ । तर, क्वारेन्टाइनमा बसेका व्यक्तिलाई बसुन्जेल पुग्ने खाद्यान्न गाउँपालिकाले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । 

 

क्वारेन्टाइनमा बस्दा लत्ताकपडाको व्यवस्था भने सम्बन्धित व्यक्तिले गर्नुपर्नेछ । क्वारेन्टाइनमा बसेका संक्रमितको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाइने र पोजिटिभ आएका व्यक्तिलाई होम आइसोलेसन वा आवश्यकताअनुसार अस्थायी कोभिड अस्पतालमा पठाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

 

केपिलासगढी थप १० दिन बन्द 

 

महामारीलाई लक्षित गरी खोटाङको केपिलासगढी गाउँपालिकाले अत्यावश्यकबाहेकका कामकाज थप १० दिनका लागि बन्द गरेको छ ।

 

गत २ जेठको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार १५ दिनका लागि सेवा बन्द गरेको पालिकाले महामारीको अवस्था नसुध्रिएको भन्दै थप १० दिनका लागि बन्द गरेको हो ।

 

मंगलबारदेखि लागू हुने गरी थप १० दिनका लागि गाउँपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने अति आवश्यकबाहेकका सेवा प्रवाह रोकिएको पालिका अध्यक्ष कृष्णकुमार राईले जारी गरेको सूचनामा उल्लेख छ ।

 

गाउँपालिकाभित्र पनि संक्रमित भेटिएकाले थप महामारी फैलिन नदिन कार्यालयको सेवा बन्द गर्नुका साथै यातायात, हिँडडुल र घुमफिरमा निषेध गरी महामारीको रोकथाम गर्नुपर्ने अवस्था आएको गाउँपालिकाले जनाएको छ ।