उदयपुर– औषधी व्यवस्था विभाग विराटनगरको टोलीले अनुगमनका क्रममा औषधी पसलबाट लागूऔषध कारोबार भएको भेटिएपछि उदयपुरको एक फार्मेसी सिल गरेको छ ।
औषधी पसलबाट लागूऔषध बिक्री वितरण गरेको खुलेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ हडियास्थित गोपीकृष्ण मेडिकल सिल गरेको हो ।
गोपीकृष्ण मेडिकल सञ्चालक वीरेन्द्रकुमार झाले औषधीसँगै नशालु लागूऔषध बिक्री वितरण गरेको भन्दै पसल सिल गरिएको हो । औषधी व्यवसायीबाटै लागूऔषाध बिक्री वितरण गरेको फेला परेपछि विभागले फार्मेसी सिल गरेको हो । झा औषधी व्यवसायी संघ उदयपुरका महासचिव पनि हुन् ।
औषधी व्यवस्था विभाग विराटनगरको टोलीले जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी र बेलका नगरपालिकाका औषधी पसलमा छड्के चेक गर्दा यस्तो तथ्य फेला परेको हो । झाले आप्mनो फार्मेसीबाट विद्यालय, क्याम्पस पढ्दै गरेका १५–१६ वर्ष उमेरका किशोरलाई बिक्री गरेको भन्ने उजुरी परेपछि छड्के चेकजाँच गर्दा पुष्टि भएको हो ।
झालाई १ वर्षअघि पनि विभागले लागूऔषध घटनामा पक्राउ गरी २५ दिन कारबाही गरी छाडेको थियो । पुनः दोहोरिएकाले औषधी ऐन, २०३५ अनुसार थप कारबाही हुने विभागले जानकारी दिएको छ । टोलीले उनको फार्मेसी सिल गरी ५ दिनभित्र विभागमा हाजिर हुने गरी पत्राचार गरेको छ ।
टोलीले बिहीबार नै बिनाइजाजत, मापदण्डविपरीत सञ्चालन गरिएका थप ५ वटा औषधी पसल पनि सिल गरेको छ । डेढ दर्जन औषधी पसलमा गरिएको चेकमा ६ वटामा सिल गरिएको हो । अनुगमन टोलीलाई देखेपछि पसल बन्द गरी फरार भएका ३ वटालाई प्रहरीमार्फत पत्र काटिएको छ ।
टोलीले तोकिएको जनशक्ति र नवीकरण नगरी सञ्चालन गरिएका बेलका नगरपालिका वडा नम्बर ४ सञ्जीवनी मेडिकल, सोही ठाउँमा बिनादर्ता सञ्चालित यादव मेडिकल, ठाउँसारी र जनशक्ति बेगर सञ्चालित सोही ठाउँको बराहा क्षेत्र फार्मेसीलाई सिल गरिएको छ ।
त्यसैगरी रामपुर सामुदायिक अस्पताल नजिक रमानन्द यादवले दर्ता नगरी सञ्चालन गरेको नाम बेगरको औषधी पसल र सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरस्थित अनुकूल औषधी पसलसमेत सिल गरिएको छ ।
जनशक्ति नभएको र एलोपेथिकको अनुमति लिएर आयुर्वेदिकलाई प्राथमिकता दिई धेरै औषधी बिक्री गरेको फेला परेपछि अनुकूललाई सिल गरिएको हो ।
कोभिड–१९ को अवस्थामा सरकारको उपस्थिति कम हुँदा औषधी पसलले जथाभावी औषधीको मूल्य बढाएको, बिक्री गरेको, पसलबाटै लागूऔषधको कारोवार गर्ने गरेको विभागमा उजुरी परेका कारण छड्के चेकजाँचलाई तीव्रता दिइएको विभागको भनाइ छ ।