close

मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको मेथिनकोट अस्पतालमा सुविधासम्पन्न आकस्मिक कक्ष निर्माण गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सहज सेवा पुर्‍याउने  उद्देश्यले आकस्मिक कक्ष निर्माण गरिएको हो । 


आकस्मिक कक्षको बिहीबार नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा भ्याटबाहेक १२ लाख २२ हजार ३ सय ९५ रुपैयाँमा आकस्मिक कक्ष निर्माण गरिएको हो । 


कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले तत्कालीन समय मेथिनकोट अस्पताललाई क्षेत्र नम्बर १ को क्षेत्रीय अस्पतालको रूपमा स्थापना गरिएको स्मरण गर्दै अहिले प्रदेशस्तरीय अस्पताल बनाउन सफल भएको बताए ।


अस्पतालमा निर्माण गरिएको आकस्मिक कक्षले बिरामीको परीक्षण र उपचार सेवा थप प्रभावकारी बन्ने विश्वास उनले व्यक्त गरे । अस्पतालमा पछिल्लो समय सेवा सुविधा थपिँदै गएको र चाँडै १ सय शय्याको अस्पतालको रूपमा विकसित गर्ने काम सुरु भइसकेको उनले जानकारी दिए ।


अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको तिमल्सिनाले बताए । मेथिनकोट अस्पताल प्रादेशिक अस्पताल बनेसँगै यसले नमोबुद्ध मात्रै नभएर आसपासका गाउँपालिका तथा छिमेकी जिल्लाका बिरामीले समेत सहज रूपमा स्वास्थ्योपचार सेवा पाउने अवस्था सिर्जना भएको तिमल्सिनाको भनाइ छ ।

 

कार्यक्रममा मेथिनकोट अस्पतालका अध्यक्ष कृष्ण खनालले सबैको सहज र सहयोगमा अस्पतालको स्तरोन्नति भएको भन्दै सेवा–सुविधासमेत अझै प्रभावकारी बनाउँदै लगिने जानकारी दिए ।


भौतिक पूर्वाधारका साथै आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापन गर्न निरन्तर लागिरहेको खनालको भनाइ थियो । चाँडै अस्पतालमा बर्थिङ सेन्टरसमेत छुट्टै स्थापना हुने उनले बताए ।


कार्यक्रममा नमोबुद्धकी उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नमोबुद्ध वडा नम्बर ४ का वडाध्यक्ष उद्धवप्रसाद काफ्ले, वडा नम्बर ७ का वडाध्यक्ष धर्मसिं लामा, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सागर जर्घामगरलगायत उपस्थित थिए ।