close

जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जडान

Trulli
ADVERTISEMENT

पाँचथर– जिल्ला अस्पताल पाँचथरमा अक्सिजन प्लान्ट जोडिएको छ । प्रदेश १ सरकारको लगानीमा प्लान्ट जडान गरिएको अस्पतालले जनाएको छ । ९७ लाख २८ हजार रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न गत आर्थिक वर्षदेखि काम सुरु गरिएको थियो । जडान गरिएको प्लान्टले प्रतिदिन ३० सिलिन्डर अक्सिजन भर्नेछ ।

 

३५ वटा बेडमा एकैपल्ट अक्सिजन आपूर्ति गर्नेछ । यद्यपि अहिलेलाई भने उक्त प्लान्टबाट सिलिन्डरमा अक्सिजन मात्र भरिनेछ । बेडमा अक्सिजन आपूर्ति निर्माणाधीन पाँचथर अस्पतालको भवन सम्पन्न भएपछि मात्र हुनेछ । बेडमा अक्सिजन आपूर्तिका लागि बन्दै गरेको भवनमा पाइपलाइन राखिएको छ ।


जिल्ला अस्पताल पाँचथरका प्रमुख डा.बुद्धिबहादुर थापाका अनुसार उक्त अक्सिजन प्लान्टबाट एकै पटक तीन वटा सिलिन्डर भर्न सकिनेछ । थापाका अनुसार एउटा सिलिन्डर भर्न ४० मिनेट समय लाग्नेछ । 

 

पाँचथर अस्पतालमा छिमेकी ताप्लेजुङ, तेह्रथुमको आठराई र फेदाप क्षेत्रका बिरामी उपचारका लागि आउने गर्छन् । छिमेकी जिल्लाका विशेषगरी प्रसूति गराउन पाँचथर अस्पताल आउने अस्पतालले जनाएको छ । अक्सिजन प्लान्ट जडान भएसँगै अब अक्सिजनका सिलिन्डर भर्न झापा पठाउनुपर्ने बाध्यता हटेको अस्पतालका प्रमुख डा. थापाले बताए । 

 

यसअघि कोरोनाको दोस्रो लहरको समय जिल्लामा अक्सिजन अभाव भएको थियो । अब त्यस्तो समस्या खेप्नु नपर्ने थापाको भनाइ छ ।  अस्पतालको निर्माणाधीन भवन सम्पन्न भएपछि आवश्यक पर्ने बिरामीका लागि बेडमै अक्सिजन पुग्नेछ । तर, नयाँ भवन निर्माणमा ढिलाइ भएको सरोकारवाला बताउँछन् ।

 

भवन निर्माण ठेकेदार कम्पनीले आगामी चैतसम्म तेस्रोपल्ट म्याद थपेको छ । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष विष्णुप्रसाद सापकोटाले चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिए ।