close

बाँकेमा ५३ हजार बढी बालबालिकाले लगाए खोप

बाँकेमा ५३ हजार बढी बालबालिकाले लगाए खोप

Trulli
ADVERTISEMENT

बाँके–बाँकेमा बुधबार र बिहीबार १२ देखि १७ वर्ष उमेर समूहका ५३ हजार १ सय ८८ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत वर्षाका कारण लक्ष्यभन्दा कमले खोप लगाएपछि दुई दिन खोप अभियान थप गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

 

बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका ६९ हजार ८ सय ३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा दुई दिनमा ८ वटा पालिकामा ५३ हजार १८८ बालबालिकाले मात्रै मोडर्ना खोप लगाएका छन् । पहिलो दिन ३१ हजार ६१७ जनाले खोप लगाएकामा दोस्रो दिन २१ हजार ५७१ जनाले खोप लगाएको श्रेष्ठले जानकारी दिए ।

 

दोस्रो दिन जिल्लाका अधिकांश भागमा दिनभर वर्षा भएकाले खोप अभियान प्रभावित हुँदा कम संख्यामा खोप लगाउन बालबालिका आएको खोप फोकल पर्सन श्रेष्ठले बताए । बाँकेमा ७६ प्रतिशत बालबालिकाले खोप लगाएको र २४ प्रतिशतलाई लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै कोहलपुरका बालबालिकाले खोप लगाएका छन् ।

 

कोहलपुरका १२१ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् । त्यहाँ १० हजार ३ सय २९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तर, कोहलपुरमा १२ हजार ५२१ बालबालिकाले खोप लगाएका छन् । त्यसैगरी खजुरा र राप्तीसोनारीका समान ८४ प्रतिशतले खोप लगाएका छन् । बैजनाथ र नेपालगञ्ज उपमहानगरका ७४–७४ प्रतिशत तथा डुडुवा गाउँपालिका ४७ र जानकीका ४५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


 
मोडर्ना खोप लगाउनेमा नरैनापुर गाउँपालिका सबैभन्दा पछि रहेको छ । त्यहाँका ३४ प्रतिशत बालबालिकाले मात्र खोप लगाएका छन् । जिल्लाका विभिन्न विद्यालयमा ४३३ खोप केन्द्र कायम गरेर खोप अभियान सञ्चालन गरिएको छ । मौसममा सुधार नआएकाले थप गरिएको दुई दिन पनि खोप अभियान प्रभावित हुन सक्ने स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।