close

प्रदेश सरकारबाट ख्वप अस्पताल अनुगमन

प्रदेश सरकारबाट ख्वप अस्पताल अनुगमन

Trulli
ADVERTISEMENT

भक्तपुर– बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झा नेतृत्वको अनुगमन टोलीले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेको छ । 

 

प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका वरिष्ठ नर्सिङ प्रशासक सावित्रीकुमारी पौडेल, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका रेडियोलोजिस्ट डा. रुपेन्द्र खड्की, ल्याब टेक्निसियन इन्चार्ज सुशील आचार्यको टोलीले अस्पतालको अनुगमन गरेको हो ।

 

भक्तपुर नगरप्रमुख एवं ख्वप अस्पताल सञ्चालक समिति अध्यक्ष सुनील प्रजापतिले शुक्रबार अनुगमन टोलीलाई ख्वप अस्पतालबाट प्रवाहित सेवा–सुविधा र अस्पतालको अवस्थाबारे जानकारी गराए । 

 

नगरप्रमुख प्रजापतिले जनताको माग र आवश्यकताअनुसार नगरपालिकाले सुविधासम्पन्न ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै अस्पताललाई १०० शय्या क्षमतामा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे ।

 

बिरामीलाई २४ सै घन्टा इमर्जेन्सी, ल्याब, एक्सरे र फार्मेसी, स्त्री रोग, जनरल सर्जरी, बाल रोग, हाडजोर्नीलगायत सेवा सञ्चालनमा रहेको उनले अनुगमन टोलीलाई जानकारी दिए ।

 

अनुगमनका क्रममा निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. झाले ख्वप अस्पतालको भौतिक पूर्वाधार सरकारले तोकेको मापदण्डअनुरूप भइरहेको पाइएको बताए ।

 

उनले ख्वप अस्पतालको भौतिक संरचना अपांगतामैत्री हुनुपर्ने र जनतालाई सहज रूपमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

 

टोलीले निर्माणाधीन ख्वप अस्पताल, ब्रह्मायणीस्थित ख्वप अस्पताल कोभिड युनिट, छाती पुनःस्थापना केन्द्रसमेत स्थलगत निरीक्षण गरेको थियो ।