close

मिक्लाजुङ्गबासीका घरआँगनमै स्वास्थ्य सेवाको पहुँच

मिक्लाजुङ्गबासीका घरआँगनमै स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

मोरङ– २०६८ को तथ्यांकअनुसार स्वास्थ्य सेवामा मोरङको मिक्लाजुङ्ग गाउँपालिका निकै पछि परेको थियो । स्वास्थ्य संस्थाको संख्या न्यून थिए । स्वास्थ्य चौकी नै चार वटा मात्रै हुँदा नागरिकले भनेजस्तो सेवा पाउन सकेका थिएनन् । सामान्य बिरामी हुँदा उर्लाबारी, पथरी, विराटनगर पुग्नुपर्ने बाध्यता  थियो । यही समस्या बुझेका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित भएर आएदेखि नै स्वास्थ्य क्षेत्रमा लगानी गरे । फलस्वरूप मिक्लाजुङ्गबासीले अब घरआँगनबाटै स्वास्थ्य सेवा पाउन थालेका छन् । 

 

मिक्लाजुङ्ग गाउँपालिकाको स्वास्थ्य सेवाको विकास हुन सकेको थिएन । जम्मा चार वटा स्वास्थ्य चौकी थिए । १० वटा फार्मेसी र एउटा क्लिनिकबाट नागरिकले सेवा पाउने गरेका थिए । बर्थिङ सेन्टर पनि एउटै थियो । स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेको संख्या ९० प्रतिशत मात्रै थियो । दक्ष स्वास्थ्यकर्मीबाट जम्मा १० प्रतिशतले मात्र सुत्केरी गराउँदै आएका थिए । गर्भवती हुँदा र सुत्केरी भएपछि स्वास्थ्य जाँच गराउनेको संख्या ३ प्रतिशत मात्रै थियो । 

 

जनप्रतिनिधि आउनुअघि मिक्लाजुङ्गमा स्वास्थ्य चौकी चार वटा, फार्मेसी १० वटा, क्लिनिक एउटा, बर्थिङ सेन्टर एउटा, परिवार नियोजनका सेवा उपलब्ध गराउने स्वास्थ्य संस्था  एउटा र महिला स्वयंसेविका २७ जना कार्यरत थिए ।

 

गाउँको स्वास्थ्य क्षेत्रको अवस्थाबारे जानकार बनेका जनप्रतिनिधिले प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै अघि बढे । स्वस्थ नागरिकविना समुन्नत समाजको निर्माण हुँदैन भनेर जनप्रतिनिधिले ९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरे । अहिले यहाँबाट नागरिकले सहज रूपमा सेवा पाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिए ।

 

बितेका साढे चार वर्षमा जनप्रतिनिधिको सक्रियताले स्वास्थ्य क्षेत्रमा परिवर्तन देखिएको छ । अहिले ९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना, गाउँघरमा क्लिनिक र घुम्ती स्वास्थ्य शिविर सञ्चालन, मधुमल्ला सामुदायिक अस्पतालमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन, संघीय सरकारको लगानीमा १० शय्याको अस्पताल निर्माण सुरु, बर्थिङ सेन्टरको स्थापना, वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, स्वास्थ्य संस्थाबाट ४३ किसिमका निःशुल्क औषधी वितरण, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

 

सामान्य बिरामी हुँदा पनि उर्लाबारी, पथरी, विराटनगर पुग्नुपर्ने बाध्यता मधुमल्ला सामुदायिक अस्पताल बनेपछि अन्त्य भएको छ । अहिले अस्पताल २४ घन्टै सञ्चालन हुन थालेको वडा नम्बर ७ का वडाध्यक्ष सुशीलराज चौहानको भनाइ छ ।

 

स्वास्थ्य क्षेत्रका लागि तय गरेका कार्यक्रम पूरा गर्न पालिकाले आव ०७५/७६ मा ६३ लाख ९० हजार, आव ०७६/७७ मा ७५ लाख, आव ०७७/०७८ मा ८० लाख, आव ०७८/७९ मा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 


 
बजेट अनुसार तय गरिएका कार्यक्रम सोही आर्थिक वर्षमा पूरा नभए अर्को वर्ष सोही बजेट यही क्षेत्रमा लगाउने गरी पालिकाले काम गर्दै आएको छ । स्वास्थ्य सेवामा नागरिकको पहुँचमा वृद्धि हुँदै गएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलको दाबी छ ।

 

यस बीचमा सिंगो मुलुक कोभिड–१९ को चपेटामा पर्दा मिक्लाजुङ्ग पनि अछुतो रहेन । जनप्रतिनिधिले महामारी नियन्त्रण गर्न ठूलो समस्या भोग्नुपरेन किनकि नागरिकलाई संक्रमणबाट जोगाउन पालिकाले कोरोना रोकथामका उपायबारे जनचेतना, मास्क प्रयोगबारे चेतना, संक्रमितको निःशुल्क उपचार, संक्रमितको निरन्तर फलोअप र अक्सिजन व्यवस्थापन, मधुमल्ला अस्थायी अस्पताललाई २४ सै घन्टा सञ्चालन, मेडिकल अधिकृतकै उपस्थितिमा स्वास्थ्य सेवा, कोरोना कोषको स्थापना गरेर २० लाख रुपैयाँ जम्मा गरेको छ ।

 

नागरिकप्रतिको उतरदायित्वले महामारी नियन्त्रण मात्रै होइन, अब फेरि विपद् आउँदा नागरिकलाई जोगाउन सक्ने क्षमता जनप्रतिनिधिबाट विकास भएको गाउँपालिकाका मेडिकल अधिकृत डा. सरोजकुमार मण्डल बताउँछन् ।

 

सरकारले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय नीति अवलम्बन गरेको छ । यो योजना पूरा गर्न मिक्लाजुङ्गले सफलता पाउँदै छ । दिगो विकासको लक्ष्यमा सबैको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने आधारशिला तयार भएको छ । यसरी नै स्वास्थ्यमा लगानी गर्दै हरेक स्थानीय सरकार अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रमा परिवर्तन सम्भव छ ।