close

अर्जुनधाराका वडावडामै स्वास्थ्य सेवाको पहुँच

अर्जुनधाराका वडावडामै स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

झापा-केही वर्ष अघिसम्म झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को हात्ती किल्लाका स्थानीयले स्वास्थ्य सेवाका लागि गोरुगाडा चढेर शनिश्चरे बजारसम्म उपचारका लागि जानुपर्ने बाध्यता थियो । तर, अहिले अवस्था फेरिएको छ । पाँच वर्षभित्र नगरपालिकाले ११ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज रूपमा उपचार दिन सक्ने अवस्था बनेको छ । 

 

अर्जुनधाराका जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नगरपालिकाभित्र स्वास्थ्य सेवाको पहुँच अत्यन्त न्यून थियो । नागरिक स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने अवस्था हटाउन जनप्रतिनिधिको पहलमा नगरभित्र अहिले सबै वडामा डाक्टरसहितको स्वास्थ्योपचार सुविधा लिन सक्ने पूर्वाधार तयार भएका छन् ।

 

यतिबेला नगरपालिकाभित्रै १५ शय्याको शनिश्चरे अस्पताल निर्माण गरिएपछि स्थानीयलाई सामान्य उपचारका लागि छिमेकी देश भारत, संघीय राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको वडा नम्बर ८ की पम्फा विश्वकर्मा बताउँछिन् ।

 

शनिश्चरेमा केही वर्षअघिसम्म सामान्य स्वास्थ्योपचार गर्ने स्वास्थ्य केन्द्र मात्र थियो । थप उपचार गर्न बिर्तामोड भद्रपुर वा दमक जानुपर्ने बाध्यता थियो । अझ कतिलाई काठमाडौं, नभए नजिकको सीमावर्ती भारतीय सहर सिलगुढी पुग्नुपथ्र्यो । तर, अहिले समय फेरिएको छ । अर्जुनधारा नगरपालिकाको शनिश्चरे खुदुनाबारीलगायतका सबै ठाउँमा सडक पुगेको छ ।

 

बाह्रै महिना गाडी चल्ने यी गाउँमा अहिले स्वास्थ्य सुविधा पनि पुगेको छ । नगरपालिकाका ११ वटा वडामा १५ वटा स्वास्थ्य सेवा केन्द्र स्थापना भइसकेको नगरप्रमुख हरिकुमार रानाको भनाइ छ ।

 

स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिन थालेका छन् । गाउँघरमै नागरिकलाई स्वास्थ्य सेवा दिइन थालेपछि बाहिरका अस्पतालमा उपचार गर्दा महँगो रकम खर्चिर्नुपर्ने बाध्यता स्थानीयलाई हटेको नगरपालिकाको वडा नम्बर १ मा रहेको सामुदायिक स्वास्थ्य इकाइकी अहेब प्रमिला एक्तेनले जानकारी दिइन् ।

 

उतिबेला प्राथमिक उपचार गर्ने शनिश्चरेको स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अहिले १५ शय्याको अस्पताल बनेको छ । एक्सरे प्रयोगशालासमेत रहेको यो अस्पतालमा आकस्मिक उपचार सेवा दिन थालिएको शनिश्चरे अस्पतालका डा. जोनसन विश्वकर्मा ल्याब टेक्निसियन केशवबहादुर अधिकारी बताउँछन् ।

 

यो अस्पतालमा आँखाको समेत उपचार थालिएको छ । यहाँ पाउने सेवाबाट सन्तुष्ट रहेको अस्पतालका बिरामी गोपाल राजवंशी र राजन भेटवाल सुनाउँछन् । शनिश्चरे अस्पतालमा सेवा लिन छिमेकी गाउँबाट मात्र हैन, बिर्तामोडबाट समेत बिरामी आउने गरेको सेवाग्राही लेखबहादुर विश्वकर्माले बताए । अस्पतालबाट बिरामीले निःशुल्क उपचार सेवासमेत पाउँदै आएको वडा नम्बर १० का वडाध्यक्ष बलदेव तामाङको भनाइ छ ।

 

सरकारले २०८८ सम्म स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय स्वास्थ्य नीति अवलम्बन गरेको छ । यो योजना पूरा गर्न अर्जुनधाराले सफलता पाउँदै छ । दिगो विकासको लक्ष्यमा सबैको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने आधारशिला पनि तयार भएको छ । यसरी नै स्वास्थ्यमा लगानी गर्दै हरेक स्थानीय सरकार अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रमा परिवर्तन सम्भव छ ।