close

भरतपुर महानगरका किशोरीलाई एचपिभी खोप

भरतपुर महानगरका किशोरीलाई एचपिभी खोप

Trulli
ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई लगाइन्छ । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा एक कार्यक्रमको आयोजना गरी वडा नं ७ बाट खोपको शुभारम्भ गरिएको छ । यो खोप क्यान्सर अस्पतालमै लगाइनेछ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले यो खोप लगाउनु पाउनु नै ठूलो कुरा भएको बताए । धेरै प्रयासपछि खोप ल्याइएको भन्दै उनले यो उमेर समूहका सबैले खोप लगाउन आग्रह गरे । 

कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए ।

अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै उनले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाभरका सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा लगाइने बताए । उनका अनुसार साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ ।

क्यान्सर अस्पतालले जिल्लाका ११ देखि १३ वर्ष उमेर समूहका छ हजार किशोरीलाई यो खोप लगाउँदैछ । डा शर्माले १२ हजार खोप आएको जानकारी दिँदै एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने बताए । 

यो एचपिभी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभई यौनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ ।

एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ र यसले हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको छ ।