close

तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा

तीर्थयात्रीको उपचारका लागि डाक्टरको समूह गोसाइँकुण्डमा

Trulli
ADVERTISEMENT

काठमाडौं– गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि डाक्टरको समुह रसुवामा पुगेको छ । बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसिन सोसाइटीका सातजना डाक्टर गोसाइँकुण्ड पुगेको जानकारी दिए । 

डा जोशीले हिमालय उद्दार सङ्घको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसकेका छन् । उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्नेछ । ‘उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य चेकजाँच गर्नेछ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने ।

सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए । सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने उनको भनाइ छ । 

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यको पहलमा हालै मोबाइल टावरसमेत पुर्‍याइएको छ । यसअघि गोसाइँकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्कसमेत नभइरहेको अवस्थामा सांसद आचार्यले ढुवानीको व्यवस्था गरी नेपाल टेलिकमको भ्वाइस तथा ‘टु जी’ सञ्चालनमा आएको हो ।

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक  मेला लाग्ने गर्दछ ।