close

फुङलिङमा ‘ज‍िरो होम डेलिभरि’ कार्यक्रम

फुङलिङमा ‘ज‍िरो होम डेलिभरि’ कार्यक्रम

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– फुङलिङ नगरपालिकाले ‘जिरो होम डेलिभरि’को नीति लिएको छ । सबै गर्भवती महिलालाई नगरपालिकाको बर्थिङ सेन्टरमा नै सुत्केरी गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकाे स्वास्थ्य शाखाकी प्रमुख मञ्जु गुरुङले बताइन् । 

उनको अनुसार नगरपालिकामा दुईओटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । विशेषगरी नगरपालिकाको सबैभन्दा टाढा पर्ने स्थान फावाखोला र फुरुम्बूलाई प्राथमिकतामा राखेर सो कार्यक्रम सञ्चालन गरिएको हो । ‘बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन सचेतनाका कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य स्वयम्सेविकाले गर्भावस्थामा रहेका महिलाहरुको ध्यान राख्नुहुन्छ,’ उनले पालिकाखबरलाई बताइन् । 

कार्यक्रमअन्तर्गत आमा समुहलाई सचेतना गराएको र गर्भवती महिलाको नगरपालिकाले गर्भजाँच गराउने गरेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘डेलिभरिको लागि अनिवार्य बर्थिङ सेन्टरमा ल्याउने गरिन्छ ।’ सुत्केरी महिलालाई बर्थिङ सेन्टर पुर्याउन जिल्लाको एम्बुलेन्स नै प्रयोग गरिएको उनले जानकारी दिइन् ।

‘पालिकामा एउटा एम्बुलेन्स सञ्जालनमा छ । त्याे जिल्ला अस्पतालको प्राङ्गणमा रहन्छ । यहाँको जनसंख्या पनि थोरै छ । आवश्यक परेको बेलामा जिल्ला अस्पातालमा रहेको एम्बुलेन्सबाट नै स्थानीयलाई बर्थिङ सेन्टरसम्म ल्याइन्छ,’ उनले भनिन् । सुत्केरी महिलालाई आवश्यक रगत नगरपालिकाले निःशुल्क उपलब्ध गराउने गरेको उनले बताइन् ।