close

बजेट नहुँदा खार्पुनाथका सबै स्वास्थ्य इकाई बन्द

बजेट नहुँदा खार्पुनाथका सबै स्वास्थ्य इकाई बन्द

Trulli
ADVERTISEMENT

हुम्ला- कर्णाली प्रदेश सरकार मानवीय स्वास्थ्यमा संवेदनशील नहुँदा खार्पुनाथ गाउँपालिकाको सबै वडामा सञ्चालित सामुदायिक स्वास्थ्य इकाई बन्द भएका छन् । 

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म गाउँपालिकाको वडा नम्बर-१ देखि ५ सम्म ७ वटा इकाई सञ्चालित थियो । तर चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै इकाई बन्द भएका गाउँपालिकाले पालिका खबरलाई जनाएको छ । 

गाउँपालिकाका अनुसार सामुदायिक स्वास्थ्य इकाई बन्द हुँदा वडा नम्बर- १ चिसामुलका स्थानीयलाई आफ्नै वडाको स्वास्थ्य चौकी एक घण्टा हिँडेर पुग्नुपर्ने बाध्यता छ । वडा नम्बर- ३ कारुङ गाउँका बासिन्दालाई डेढ घण्टा, वडा नम्बर-३ सेरादिलका डेढ घण्टा, वडा नम्बर-४ लेखबस्तीवासीलाई डेढ घण्टा र वडा नम्बर-५ पाक्ला र दुर्पाका स्थानीय डेढ घण्टा हिँडेर आफ्नै वडाको स्वास्थ्य चौकी पुग्न बाध्य छन् । 

गाउँपालिकाका अनुसार गत वर्ष कर्णाली प्रदेश सरकारले २५ लाख विनियोजन गरेको थियो तर यस वर्ष समयमा बजेट व्यवस्थापन नगर्दा एक ट्याब्लेट सिटामोल लिनका लागिसमेत ३ घण्टासम्म हिँड्न बाध्य छन् ।  गाउँपालिकाका अनसार प्रदेशले बजेट पठाएपछि मात्र सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आउनेछ । 

त्यस्तै गाउँपालिकामा घरमै सुत्केरी गराउने समस्या धेरै रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख शाहीले पालिका खबरसँग भने,-‘स्वास्थ्य चौकीमा सुत्केरी गराउनै मान्दैनन् । पहिलाको भन्दा सुधार भएको हो तर घरमा सुत्केरी गराउनेको संख्या धेरै प्रतिशत छ यहाँ ।’

गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाभर ११७ जना सुत्केरीमध्ये १३ जनाले घरमै बच्चा जन्माएका छन् । यो संख्या ११ प्रतिशतभन्दा बढी हो ।