close

स्थानीयले लगाए गाउँपालिकामा ताला

स्थानीयले लगाए गाउँपालिकामा ताला

Trulli
ADVERTISEMENT

नुवाकोट– तारकेश्वर गाउँपालिकाको  गाउँकार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । पालिका अस्पताल अन्यत्र बनाउन लागेको भन्दै नगरपालिकाको वडा नं १ का स्थानीयले तालाबन्दी गरेका हुन् । ‘१० शय्या अस्पताल संघर्ष समिति’ले शुक्रबार गाउँपालिकामा तालाबन्दी गरेका छन् । 

वडा नं १ को बाङसिङमा निर्माणाधिन १० शय्याको अस्पतालको  निर्माणको काम ७० प्रतिशत सकिएको छ । उक्त अस्पताल भारतीय दूताबासको सहयोगमा निर्माण भइरहेको हो । संघ सरकारले एक पालिका एक अस्पतालको नीति ल्याएसँगै गाउँ कार्यपालिकाले पालिका अस्पताल बाङसिङबाट वडा नं ५ स्थित  गोरखेङ स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेपछि वडा नम्बर १ का स्थानीयहरू आन्दोलित भएका हुन् । आन्दोलनकै क्रममा आज उनीहरुले पालिकामा ताला लगाएका स्वास्थ्य शाखा प्रमुख छविलाल केसीले पालिका खबरलाई बताए ।

उनीहरूले पालिकाले २ वटा अस्पताल बनाउन नसक्ने जनाउँदै  निर्माणाधिन अस्पताललाई नै गाउँ अस्पतालमा सदर गर्न माग गरेका हुन्  । वडा नं १ मै गाउँ अस्पताल बनाउन पटक पटक पालिकालाई अनुरोध गरेको स्थानीयले जनाएका छन् । पालिकाले उनीहरुको मागको सुनुवाई गरेर बाङसिङमै गाउँ अस्पताल बनाउने निर्णय गरेमा तालाबन्दी खोल्ने जनाएका छन् । 

यस विषयमा जानकारी लिन पालिकाखबरले गाउँपालिका अध्यक्ष शिव अधिकारीलाई फोन गर्दा काम विशेषले आफू काठमाडौंमा आएको जानकारी दिए । ‘पालिकामा तालाबन्दी भएको विषयमा जानकारी छैन,’ उनले भने । स्वास्थ्य शाखाका प्रमुख छविलाल केसीले गाउँपालिकाका अध्यक्ष पालिकामा आएपछि मात्रै घटनाको टुङ्गो लाग्ने बताए ।