close

बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा ५ हजार भत्ता

बर्थिङ सेन्टरमा सुत्केरी गराउँदा ५ हजार भत्ता

Trulli
ADVERTISEMENT

दोलखा– मेलुङ गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी गराएबापत सुत्केरी भत्ता उपलब्ध गराउने गरेको छ । गाउँपालिकाले बर्थिङ सेन्टरमा सुत्केरी भत्ता ५ हजार रुपैयाँ उपलब्ध गराएको हो । 

आर्थिक वर्ष २०७८/७९ देखि सुत्केरीलाई भत्ता उपलब्ध गराइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले बताए । ‘नेपाल सरकारले बर्थिङ सेन्टरमा सुत्केरी गराएबापतको ३ हजार र ४ पटक गर्भ जाँच गराएबापत उपलब्ध गराउने ८ सय गरी ३८ सय भत्ता दिन्छ । साेबाहेक गाउँपालिकाले ५ हजार सुत्केरी भत्ता उपलब्ध गराउँछ,’ उनले पालिकाखबरसँग भने । 

उनको अनुसार मेलुङ गाउँपालिकामा ५ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । गाउँपालिकाले सुत्केरीलाई ५ हजार रुपैयाँ भत्ता गराएयता गाउँपालिकामा 'जिरो होम डेलिभरि' रहेको शाखा प्रमुख चापागाईले बताए । उनले भने, ‘हरेक महिना सुत्केरी हुने महिलाको तथ्यांक शाखामा आउँछ । घरमै बच्चा जन्माउने सङ्ख्या शून्य छ ।’

यसबाहेक गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी, २ ओटा आधारभुत स्वास्थ्य चौकी र ४ ओटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । गाउँपालिकामा हालसम्म अस्पताल भने बन्न नसकेको उनले बताए । 

डाक्टरसहितको स्वास्थ्य सेवा लिन वडा नं ७ मा रहेको निजी स्वास्थ्य संस्था अथवा जिल्ला सदरमुकाम चरिकोट वा मन्थली जाने गरेको उनले सुनाए ।