close

लिखुमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

लिखुमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

ओखलढुङ्गा– लिखु गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा प्रसुती गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । सुत्केरी व्यथा लागेको अवस्थामा गर्भवतीलाई गाउँपालिकाले बर्थिङ सेन्टरमा लैजान निःशुल्क एम्बुलेन्स प्रदान गरेको हो । 

गाउँपालिकाका बर्थिङ सेन्टरमा सुत्केरी हुन नसके उनीहरुलाई रिफर गरिएको अस्पतालसम्म एम्बुलेन्सले निःशुल्क पुर्याउने पालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीले बताए । उनको अनुसार मन्थली र काठमाडौंमा बढी बिरामी रिफर हुने गरेका छन् ।  

चालु आर्थिक वर्षबाट सुत्केरी भेट गर्न उपाध्यक्ष जाने कार्यक्रम पनि सुरु भएको उनले बताए । ‘कुखुरासहित अन्य पौष्टिक आहार बोकेर उपाध्यक्ष सुत्केरी भेट्न जानुहुन्छ,’ उनले पालिकाखबरसँग भने । 

९ वटा वडा रहेको लिखु गाउँपालिकामा ५ ओटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । गाउँपालिकामा घरमै सुत्केरी हुने संख्या न्युन रहेको उनले बताए । ‘सुत्केरी गराउन स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना सबैमा आइसक्यो । कहिलेकाँही घरमै वा बाटोमा लैजाने क्रममा आकस्मिक सुत्केरी हुन्छन्,’ स्वास्थ्य संस्थाको अभावले घरमै सुत्केरी हुनुपर्ने अवस्था नरहेको उनले बताए । 

चालु आर्थिक वर्षदेखि बच्चा जन्मिएपछी उनीहरुलाई ५ हजार रुपैयाँ प्रदान गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको उनले बताए । ‘कसरी वितरण गर्ने भनेर कार्यविधि बनाउदैछौँ,’ उनले भने ।