close

सुत्केरी महिलालाई गाउँपालिकाद्वारा घ्यू र अण्डा वितरण

सुत्केरी महिलालाई गाउँपालिकाद्वारा घ्यू र अण्डा वितरण

Trulli
ADVERTISEMENT

रामेछाप - खाँडादेवी गाउँपालिकाले प्रजनन स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखी गाउँपालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स, एक्सरेदेखि सुत्केरी र बच्चाको घरमा नै स्वास्थ्य परीक्षण गराउने व्यवस्था गर्दै आएको छ ।

खाँडादेवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार प्रजनन् स्वास्थ्यमा स्थानीय सरकार संवेदनशील बन्नुपर्ने दायित्वलाई ध्यानमा राखी गाउँपालिकाले पालिकाभित्रका गर्भवती महिलालाई विभिन्न स्वास्थ्य सेवा प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको हो ।

गाउँपालिकाले स्वास्थ्य संस्थामा नै सुरक्षित सुत्केरी गराउने हेतुले स्थानीय सरकारले प्रोत्साहन गर्न सुत्केरीपछि पनि आमा र बच्चाको दुई पटकसम्म स्वास्थ्य परिक्षण गराउने व्यवस्था गरेको श्रेष्ठले बताए । ‘सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाने मात्र होइन, सुत्केरी भएर घर फर्किएपछि पनि तीन दिन र सात दिनकी सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी सुत्केरीको घरमा नै पुग्छन् । त्यो पनि निःशुल्क । स्वास्थ्यकर्र्मीले घरमा गएर आमा र बच्चा दुवैको स्वास्थ्य परीक्षण गर्छन । परामर्श दिन्छन्, आवश्यक परे औषधिसमेत दिन्छन् । प्रसूतिपछिको अवस्था पनि त्यतिकै जोखिमपूर्ण हुने भएकोले सो सेवा प्रदान गरिएको हो’,श्रेष्ठले भने ।

सुरक्षित रूपमा सुत्केरी हुन स्वास्थ्य संस्थामा आउन प्रेरित गर्न गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिनेदेखि घरमै सुरक्षित सुत्केरी भएको अवस्थामासमेत गाउँपालिकाले स्वास्थ्यकर्मीलाई घरमै पठाएर आवश्यक स्वास्थ्य परिक्षण गर्ने गरेको श्रेष्ठको भनाइ छ । 

उनले भने,‘कुनै महिला स्वास्थ्य संस्थामा नआई घरमा नै सुत्केरी भए भने त्यो थाहा पाउने बित्तिकै स्वास्थ्यकर्मी घरमा पुग्छन्, जाँच गर्छन र आवश्यक सेवा प्रदान गर्दछन । त्यसपछि पुनः तीन दिनदेखि सात दिनको बिचमा र सात दिनदेखि १४ दिनको बीचमा घरमा नै पुगेर बच्चा र आमा दुवैको स्वास्थ्य जाँच गरी आवश्यक परामर्श दिएर फर्कन्छन् ।’

गाउँपालिकाले सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन उत्प्रेरित गर्न 'सुत्केरीसँग उपाध्यक्ष भेट' कार्यक्रमसमेत सञ्चालन गरेको छ । सो कार्यक्रमअन्तर्गत सुत्केरी भेट गर्न गाउँपालिका उपाध्यक्ष कोसेलीसहित सुत्केरी महिलालाई भेट्न जाने गरेकी छिन् । बच्चाले लगाउने लुगा तथा आमाको लागि घ्यु, अण्डा लगायत पोसिलो खानेकुरा लिएर उपाध्यक्ष सुत्केरी  भेट्न जाने गरेको गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् । 

यसो गर्दा सुत्केरी अवस्थामा महिलामा परेको मनोवैज्ञानिक प्रभावलाई कम गराउन सहयोग मिल्ने अनुभव उपाध्यक्ष घिसिङको छ । ‘यसरी भेट्न जाँदा सुत्केरी महिलाले छुट्टै अनुभूति गर्छन, आफूलाई पनि आनन्द आउँछ’, उनले भनिन् । 

गाउँपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्स–रे सेवा समेत सञ्चालन गरेको छ । गाउँपालिकाको पकरबास स्वास्थ्य चौकीमा नियमित र अन्य स्वास्थ्य संस्थामा घुम्ती सेवा प्रदान गर्दै आएको छ ।