close

अपरेशनको डरले घरमै सुत्केरी

अपरेशनको डरले घरमै सुत्केरी

Trulli
ADVERTISEMENT

धनुषा– लक्ष्मीनिया गाउँपालिकामा गत आर्थिक वर्षमा २० महिला घरमै सुत्केरी भएका छन् । घरमै सुत्केरी हुने गर्भवती महिलाहरूमा सबैभन्दा धेरै पालिकाका दलित बस्तीबाट छन् । 

दलित बस्तीका महिलाहरू सुत्केरी हुन स्वास्थ्य संस्थामा जान नमान्दा घरमै सुत्केरी गराउने महिलाको सङ्ख्या  बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश कुमार ठाकुर बताउँछन् । उनको अनुसार पालिकाभरिकै विपन्न तथा दलित समुदायका परिवारबाट स्वास्थ्य संस्थामा सुत्केरी गर्न जाँदैनन् । विशेषगरि पालिकाका वडा नं १ र वडा नं २ का दलित बस्तीहरूबाट प्रसुति केन्द्रमा सुत्केरी गराउन नजाने उनले बताए । ‘ उनीहरू प्रसुति केन्द्रसम्म लैजान झन्झट मान्छन् । स्वास्थ्य संस्थामा सुत्केरी गराए शल्यक्रियाबाट सुत्केरी गराइदिन्छन् भन्ने सोचाइ छ ,’ उनले भने । अशिक्षा र अज्ञानताका कारण घरमै सुत्केरी गराउने उनले बताए । 

सुत्केरी गराउन लैजाने क्रममा र घरमै गरेर गत आर्थिक वर्षमा २० जना गर्भवतीको होम डेलिभरी भएको थियो । पालिकाको प्रसूति केन्द्रमा १८७ जना गर्भवती महिलाको सुत्केरी भएको उनले जानकारी दिए । 

लक्ष्मीनिया गाउँपालिकाभित्र चारवटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । ती मध्ये दुईवटा ‘बर्थिङ सेन्टर’ रहेको उनले बताए । गाउँपालिकाको वडा नं १ सिनोरजोडा र बुनि बनिनिया स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालनमा छन् । भौगोलिक हिसाबले गाउँपालिकाको क्षेत्रफल थोरै रहेकाले दुईवटा प्रसूति केन्द्रले पालिकाका सबै क्षेत्रमा गर्भवती सुत्केरीलाई सेवा दिन सक्ने स्वास्थ्य शाखा प्रमुख ठाकुर बताउँछन् । पालिकाबाट सञ्चालित दुईवटै ‘बर्थिङ सेन्टर’मा प्रसुति सेवा सम्बन्धी तालिम प्राप्त नर्स र अनमी सहित आठ जना स्वास्थ्यकर्मी कार्यरत रहेको उनले सुनाए ।

स्थानीयलाई थप सेवा दिने उदेश्यले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स पनि सञ्चालमा ल्याएको उनले जानकारी दिए । ‘वैशाखदेखि गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गरिरहेको छ,’ उनले भने । 

दुईवटा बर्थिङ सेन्टरमा गरेर सुत्केरी भएको उनले सुनाए । पालिकाभित्रका सम्पन्न परिवार भने गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य केन्द्रमा नगई नीजि स्वास्थ्य केन्द्रमार्फत सुत्केरी हुने गरेको उनले सुनाए । ‘उहाँहरू सरकारी प्रसूति केन्द्रमा उपचार राम्रो हुँदैन सोचेर प्राइभेट हस्पिटलमा जानुहुन्छ,’ उनले भने । 

उनले स्वास्थ्य संस्थामा प्रसुति गराउनको लागि गाउँपालिकाले आमा समूहमार्फत सचेतना उपलब्ध गराउने गरेको बताए । उनले बताए, ‘आसमान नेपाल संस्थाले गर्भवतीहरूको समुह बनाएर मासिक रुपमा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।’