close

स्वास्थ्य प्रर्वद्धनका लागि ३ 'स'

स्वास्थ्य प्रर्वद्धनका लागि ३ 'स'

Trulli
ADVERTISEMENT

प्युठान - स्वर्गद्धारी नगरपालिकाले स्वास्थ्य प्रर्वद्धनका लागि ३ 'स' कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

नगरपालिकाको जनस्वास्थ्य अधिकृत दलबहादुर केसीका अनुसार स्थानीय बासिन्दाको स्वास्थ्यलाई मध्येनजर गरी चालु आर्थिक वर्षबाट नेपालमै पहिलो पटक ३ ‘स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । ३ स बाट सफा चर्पी, सफा घर आँगन र सफा भान्छा भन्ने बुझिने उनले पालिकाखबरलाई सुनाए । 

नगरबासीको स्वास्थ्य अवस्थालाई मध्यजनर गरी नगरपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ । सो कार्यक्रम सञ्चालनका लागि स्थानीय बासिन्दालाई जानकारी दिँदै आएको उनले सुनाए । 

स्थानीय स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिको सहयोगमा स्थानीय बासिन्दालाई यसबारे जनचेतनामूलक कार्यक्रम दिँदै आएको उनको भनाइ छ । सो कार्यक्रमको लागि नगरपालिकाले स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका तथा जनप्रतिनिधिहरू अनिवार्य बैठक बस्दै आएको छ । 

सो बैठकबाट पालिकाको योजना बनाउने र सोही अनुरुप कार्यान्वयन गरिने उनले सुनाए । उनका अनुसार डेंगी महामारी रोकथाम तथा नियन्त्रणमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

शून्य हाेमडेलिभरीका लागि उपमयेर कोसेली झोला कार्यक्रम
नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी उपमेयर कोसेली सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरपालिकाले होम डेलिभरी अन्त्य गर्नको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको पालिकाका जनस्वास्थ्य अधिकृत दलबहादुर केसीले बताए । 

उनका अनुसार महिला गर्भवती भएको थाहा पाएदेखि पोषणका लागि हाइजेनिक खानेकुरा वितरण गरिने छ । नगरपालिकाले गर्भवती महिलाको सरसफाइलाई ध्यानमा राखेर साबुन, मन्जन, ब्रस, काइयो र नङ कटर वितरण गर्ने उनको भनाइ छ । उपमेयर कोसेली झोलामार्फत सो सामग्री वितरण गर्ने उनको दावी छ । 

नगरपालिकाले सुत्केरी महिलाको लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । पालिकाभित्रका स्वास्थ्य संस्थाका आवतजावतको लागि टाढाको स्वास्थ्य संस्थामा जानु परेमा एकतर्फी निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने उनले सुनाए । 

उनका अनुसार पालिकाभित्र ७ वटा वर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । नगरपालिकाले शून्य होम डेलिभरीका लागि पालिकाभित्रको ३६ वटा आमा समूहको मासिक बैठक सञ्चालन गर्दै आएको छ । यसैगरी विद्यालय स्वास्थ्य शिक्षा, महिला स्वास्थ्यकर्मीको परिचालन र खोप क्लिनिक सञ्चालन गर्दै आएको छ । 

नगरपालिकाले स्वास्थ्यको लागि चालु आवमा डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमध्ये अधिकांश बजेट कर्मचारीको तलबभत्तामा जाने उनले सुनाए । उनका अनुसार पालिकामा ४१ जनाको दरबन्दी स्वास्थ्य कर्मचारी भएपनि २० जना मात्रै कार्यरत छन् । त्यसमध्ये ४० जना कर्मचारी नगरपालिकाको आन्तरिक स्रोतबाट रहेका छन् ।