close

बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमा

बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

कैलाली- टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिने भएका छ। टीकापुर –२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो ।

टीकापुर –२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा आवद्ध गर्न थालिएको जानकारी दिए।  उनले वडाका हरेक काममा चिराकीको ठूलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बीमा गरिदिन थालेको बताए।

'वर्षौँदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठूलो कुरा हो', उनले भने, 'बिरामी पर्दा तपाईँ र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बीमामा सघाएका छौँ ।'

यसरी सामाजिक सेवा गरिरहेका बडघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बीमा गरिएको हो । स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले दुई हजार ८०० र ७०० बिमित स्वयंले तिरेर बीमा गरिएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भए वर्षमा एक लाख रुपैयाँसम्मको उपचार सेवा निःशुल्क पाइन्छ । वडाले बीमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन्। अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउँछन् ।

'वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिहेका छौँ', परियार भने, 'वडाले कागजपत्र ल्याउनु बीमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो । अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ ।'

तीस वर्षभन्दा बढी समयदेखि बडघरको जिम्मेवारी सम्हालिरहनुभएका बन्दीपुरका बडघर श्यामलाल डगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बीमा गरिदिँदा धेरै राहत हुने बताउँछन् । वडाले आफूमात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उनको भनाइ छ । 

बडघर, गुरुवा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् । समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बडघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हातेमाइकजस्ता सामग्री सहयोग गर्दै आएका छन् ।