close

राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र

राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र

Trulli
ADVERTISEMENT

बाँके- राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र संचालनमा आउने भएको छ । 

राप्तीसोनारी गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र संचालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र संचालनमा आउने भएको हो । 

गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्ने गरी केन्द्र संचालनमा ल्याउन लागिएको पालिकाका अध्यक्ष पौडेलले बताए । उनले एक महिनाभित्रै आँखा उपचार सेवा दिने गरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पनि दिए । एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् ।

त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले उनीहरुको तलवभत्ता ५०–५० प्रतिशत वेहोर्ने सहमति भएको छ । त्यसपछि भने पालिकाले क्रमशः बढाउँदै लैजाने र तीन वर्षपछि केन्द्रका सबै कर्मचारीको सम्पूर्ण तलव पालिकाले व्यहोर्नु पर्नेछ । 

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, बिरामीको आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, औषधि तथा चश्माको बिक्री वितरणलगायतका सेवा प्रवाह हुनेछ ।