close

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका राजुदेवी

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका राजुदेवी

Trulli
ADVERTISEMENT

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ की ५० वर्षीया राजुदेवी रानाले महिला स्वास्थ्य स्वयंसेविका भएर कार्य गरेको दुई दशक बढी भइसकेको छ । उनी नगर क्षेत्रकै उत्कृष्ट स्वयंसेविका हुन् । 

स्वास्थ्यकर्मी र चिकित्सक नभएको अवस्थामा गर्भवती, सुत्केरी भएकालाई अप्ठेरो परेको जुनसुकै बेला पनि राजुदेवीलाई गुहार्ने गरिन्छ । राजुदेवी भन्छिन्, “मानवीय सेवाका लागि कहिल्यै पछाडि फर्केर हेरेको छैन, यसै पेसाबाट मन जितेको छु, माया र ममता पाएको छु, सेवामै रमाउन चाहन्छु ।”  विसं २०५७ सालमा आमा समूहमा आबद्ध भएर उनी महिला स्वास्थ्य स्वयंसेविकामा प्रवेश गरेकी हुन् । 

स्वयंसेविका भएपश्चात् राजुदेवीले गर्भवतीलाई जाँच गराउन, सुत्केरी हुनेलाई बर्थिङ सेन्टरसम्म पुर्‍याउन, पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन खोप केन्द्रसम्म पुर्‍याउने कार्य गर्दै आएकी छन् । योसँगै गर्भवती भएकाको घरमै पुगेर आइरन चक्की खान दिने, बालबालिकालाई भिटामिन खाए नखाएको बारे सोधीखोजी गर्ने र परिवारनियोजनका अस्थायी साधन आवश्यक भएका दम्पतीलाई उपलब्ध गराउने कार्य उनले  गर्दै आएकी छन् । 

सरकारी तवरबाट राजुदेवी पोशाक भत्ताबापत वर्षमा सात हजार र अन्य १५ हजार पाउछिन् । “गाउँमा कोही बिरामी भए मेरै दैलोमा पुग्छन्,” उनी भन्छिन्, “नाइनास्ती भन्नै सकिँदैन, धनगढी, नेपालगञ्ज र कहिलेकाहीँ काठमाडौँ, भारतको नयाँ दिल्ली, कलकतासम्म पुग्नुपर्छ । गाउँघर क्लिनिक सञ्चालन हुने ठाउँमा किटबक्ससँगै त्यसमा प्राथमिक उपचारका लागि आवश्यक औषधि र एक दराज मात्रै उपलब्ध गराइएको छ ।”
 
विसं २०७५ सालमा वडा कार्यालयका तर्फबाट एकवटा साइकल पाइएका थियौँ, त्यो पनि जीर्ण हुँदा पैदल नै सुत्केरी र गर्भवती स्याहार्न हिँड्नु परेको गुनासो गर्दै उनी भन्छिन्,“गाउँमा बिरामी भए पहिलो फोन महिला स्वास्थ्य स्वयंसेविकालाई नै आउँछ, फोन आउँदा घरको सबै काम छाडेर त्यसमै होमिन्छौँ तर महिला स्वयंसेविकाको पीडा हेर्ने कोही हुँदैन ।” 

स्वास्थ्य क्षेत्रको सफलतामा महिला स्वयंसेविकाको ठूलो हात रहे पनि हेर्ने दृष्टिकोणमा सुधार नआउँदा अभावमै बाँच्नु परेको राजुदेवी बताउछिन् ।