close

तिला गाउँपालिकामा औषधि अभाव

तिला गाउँपालिकामा औषधि अभाव

Trulli
ADVERTISEMENT

जुम्ला- तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । 

नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए । 

सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु समयमै उपलब्ध नहुँदा तिलाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको तिला गाउँपालिका–३ मा रहेको कुडारी स्वास्थ्य चौकीमा प्रमुख विजय रावलले बताए । सङ्घीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गए पनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधिको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन । 

प्रमुख प्रशासकीय अधिकृत बारम्बार फेरबदल हुँदा औषधि खरिद बोलपत्रको काम हुन सकेको छैन । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिनलगायत औषधि अभाव भएको कुडारी स्वास्थ्य चौकीमा प्रमुख रावलले जानकारी दिए । पालिकाले औषधि खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिन थालेको जनगुनासो आएको छ । 

सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाखको बजेट अबको एक सातापछि ‘टेन्डर’ प्रक्रियामा गई तिलाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले जानकारी दिए । पालिकाले यो वर्षका लागि जम्मा आठ लाख बजेट स्वास्थ्य शाखालाई विनियोजित गरेको छ । 

“सीमित बजेटको सीमाभित्र भई काम गर्नुपर्ने भएकाले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधि ल्याएको छु ।”, स्वास्थ्य संयोजक रावतले भने, “पालिकाले मलाई स्वास्थ्य संयोजकको जिम्मेवारी दिएको एक महिनामात्र भएको छ । स्वास्थ्य संस्थाका पहिलादेखि नै औषधि अभाव रहेछ । अहिले पालिकाभित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधिको माग फाराम भरी पठाएको स्वास्थ्य संयोजक रावतको भनाइ छ ।”