close

५६ जना स्थानीयले लिए गाउँपालिकाको एम्बुलेन्स सेवा

५६ जना स्थानीयले लिए गाउँपालिकाको एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

रसुवा– गोसाईकुण्ड गाउँपालिकाले ५६ जना स्थानीयलाई एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गत आर्थिक वर्षको भदौदेखि एम्बुलेन्स सञ्चालमा ल्याएर गाउँपालिकाले हालसम्म ५६ जनालाई एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । 

गाउँपालिकाले एम्बुलेन्स निर्देशिका तयार गरेर एम्बुलेन्स सेवा उपलब्ध गराएको पालिकाका अध्यक्ष कैसङ नूर्पु तामाङले  बताए । निर्देशिकामा स्थानीयलाई सेवा लिँदा छुट दिने व्यवस्था मिलाइएको छ । 

सेवा लिने मध्ये २२ जनालाई निःशुल्क सेवा उपलब्ध गराएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक विमल कुमार घिमिरेले बताए । उनले भने, ‘हालसम्म ५६ जनालाई एम्बुलेन्स सेवा उपलब्ध गरायौं । २२ जनालाई निःशुल्क र बाँकीलाई निर्देशिका अनुसार शुल्कमा छुट दिएका छौँ ।’

२०७९ असारमा भारत सरकारले गोसाईकुण्ड गाउँपालिकालाई एउटा एम्बुलेन्स उपलब्ध गराएको थियो । सो एम्बुलेन्स प्राप्त गरेपछि सञ्चालनमा ल्याउँदा पालिकाका दुर्गम क्षेत्रका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहज भएको उनले जानकारी दिए । 

सो एम्बुलेन्सबाट गाउँपालिकाले ज्येष्ठ नागरिक, तथा अपांगता भएका व्यक्तिलाई निःशुल्क सेवा उपलब्ध गराउँदै आएको उनले पालिकाखबरलाई बताए । गोसाईकुण्ड गाउँपालिकाको स्थानीय बासिन्दालाई एम्बुलेन्सको सेवा शुल्कमा पचास प्रतिशत छुटमा सेवा उपलब्ध गराएको उनले जानकारी दिए । अत्यावश्यक सेवाका लागि पालिका बाहिरका नागरिकलाई पनि एम्बुलेन्सले सेवा उपलब्ध गराउँदै आएको उनले बताए । 

उनले भने, ‘संघीय सरकारको एम्बुलेन्स निर्देशिकाअनुसार एम्बुलेन्सको कलर, आवश्यक इक्युपमेन्ट राखेर चलाएका छौँ ।’ 

गोसाईकुण्ड गाउँपालिकामा ९ वटा स्वास्थ्य संस्था छन् । जिल्ला अस्पताल रसुवा अस्पताल पनि पालिकाभित्र नै पर्छ । एम्बुलेन्सले गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाका साथै इमर्जेन्सी बिरामीलाई काठमाडौंसम्म पु¥याउने गरेको स्वास्थ्य संयोजक घिमिरेले बताए ।