close

पाैष्टिक आहार र नगद लिएर गर्भवती भेट्दै उपाध्यक्ष

पाैष्टिक आहार र नगद लिएर गर्भवती भेट्दै उपाध्यक्ष

Trulli
ADVERTISEMENT

ओखलढुंगा - लिखु गाउँपालिकाले गर्भवतीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुने गरी सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखा स्वास्थ्य संयोजक दिनानाथ चौधरीका अनुसार सो गाउँसभाले कार्यविधि पास गरेसँगै सो कार्यक्रम सञ्चालनमा आउने छ । गाउँपालिकाले सो कार्यक्रमको लागि चालु आबमा करिब पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकखबरलाई सुनाए । 

गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले कार्यक्रम सञ्चालन गर्नको लागि कार्यविधि ल्याउन लागेको बताइन् । आगामी फागुनमा हुने गाउँसभाबाट सो कार्यविधि पारित गरी कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ  । कार्यक्रम सञ्चालनमा आएसँगै आगामी वर्ष निरन्तर चल्ने उनले जानकारी दिइन् । 

आफ्नो गाउँपालिका विकट क्षेत्रमा भएकाले अधिकांश स्थानीय बासिन्दा आर्थिक तथा सामाजिक रुपमा विपन्न हुने उनको भनाइ छ । आर्थिक रुपमा विपन्न भएकै कारणले पोष्टिक तत्वको अभावले गर्भवती महिलामा विभिन्न समस्या देखा परेको र सो समाधानको लागि कार्यक्रम ल्याएको उनले सुनाइन् ।

कार्यक्रम सञ्चालनमा आएसँगै गर्भवती महिलालाई भेटघाट गर्ने उनले बताइन् । भेटघाटमा गर्भवती महिलालाई टोकन अफ लभसँगै केही नगद र पौष्टिक आहारसमेत वितरण गरिने उनले सुनाइन् । सो कार्यक्रमले गर्भवती महिला तथा बालबालिकालाई केही राहत पुग्ने उनको विश्वास छ ।