close

महिला फोकस कार्यक्रम : उपाध्यक्ष पुरुष भएपछि अध्यक्ष स्वयं सक्रिय

महिला फोकस कार्यक्रम : उपाध्यक्ष पुरुष भएपछि अध्यक्ष स्वयं सक्रिय

Trulli
फाइल तस्विर
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले  सुत्केरीसँग भेटघाट कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्वास्थ्य संस्थामा सन्तान जन्माउनको संख्यामा बृद्धि भएको छ । गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याए पछि तुलनात्मक रुपमा संख्या बढेको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक ज्ञानु कार्कीका अनुसार गत आर्थिक वर्षदेखि पालिकाले निरन्तर रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले नै सो कार्यक्रम सञ्चालनमा ल्याए पनि कोरोनाको कारण स्थगित भएको उनले पालिकाखबरलाई सुनाए । 

उनले भने,‘अघिल्लो कार्यकालबाट नै कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर कोरोनाले आर्थिक अभाव भएपनि कार्यक्रम स्थगित गरिएको हो ।’ तर गत वर्षदेखि गाउँपालिकाले कार्यक्रमको लागि बजेट विनियोजन गरी सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाले सुत्केरी महिला तथा नवजात शिशुलाई पोषणको कमी हुन नदिनको लागि कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षसहितको टोली नगद र सामग्री बोकेर भेट्न जाने गरेको उनको भनाइ छ । 

'उपाध्यक्षको कार्यक्रम हो । तर हाम्रोमा उपाध्यक्ष पुरुष भएकाले अधिकांशलाई भेट्न अध्यक्ष नै जानुहुन्छ,' उनले भने । गाउँपालिकाले सुत्केरी महिलालाई नगद तथा पोषिलो खानेकुरा वितरण गर्ने उनले सुनाए । 

उनका अनुसार गाउँपालिकामा ९ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । गाउँपालिकामा दुई वटा बर्थिङ सेन्टर रहेको र सोहीमार्फत सेवा सञ्चालन हुँदै आएको उनले सुनाए ।