close

जन्मने बित्तिकै प्रतियोगी

जन्मने बित्तिकै प्रतियोगी

Trulli
ADVERTISEMENT

रामेछाप- प्रतिस्पर्धामा सहभागी भन्ने बित्तिकै केही न केही जानेकै हुनुपर्छ । सके तालिम, नपाएका अभ्यासरत खेलाडीहरू प्रतिस्पर्धी हुन्छन् । त्यतिले मात्र प्रतिस्पर्धामा भाग लिएर विजेता हुन मुस्किल हुन्छ । त्यसैले निरन्तरता र कडा मेहनत अनिवार्य हो । 

तर खाँडादेवी गाउँपालिकामा भने शिशु जन्मनासाथ प्रतिस्पर्धामा सहभागी हुन्छन् । आमाको पेटभित्रै उनलाई प्रतिस्पर्धीको रूपमा हेरिन्छ । जब कोखबाट काखमा आउँछन् तब प्रतिस्पर्धामा सहभागी हुनुपर्छ । त्यो पनि वर्षमा २ पटक भिड्नुपर्ने हुन्छ । 

तर उनीहरू कुनै फुटबलर, किक्रेटर वा कुनै कराँतेलगायतका खेलाडीजस्तो रिङ, मैदान वा कोर्टमा जानुपर्दैन । उनीहरूको प्रतिस्पर्धा भनेको ‘स्वास्थ बच्चा प्रतियोगिता’ भएको हुँदा हजार दिने आमा अर्थात गर्भ बस्नेबित्तिकैका आमाको खानपान, नियमित गर्भ परीक्षण, स्वास्थ्य चौकीमा सुत्केरी, नियमित खोप र वृद्धि अनुगमन गरेको नियमित गरेको भने हुनुपर्छ ।

खाँडादेवी गाउँपालिकाले बालबालिकामा देखिने कुपोषण शून्यमा झार्नका लागि आर्थिक वर्ष ०७६/०७७ सालदेखि यो अवधारणामा काम गर्दै आएको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश श्रेष्ठका अनुसार यो अवधारणाबाट काम गर्दा कुपोषित बालबालिकाको संख्या न्यूनीकरण भएको छ । 

यतिमात्र नभई नियमित गर्भवतीको स्वास्थ्य जाँच, स्वास्थ्य चौकी सुत्केरी गराउनेको संख्या र नियमित रूपमा बच्चाको खोप तथा वृद्धि अनुगमन गर्ने परिवारको संख्यासमेत वृद्धि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्को ६ महिना अवधि अर्थात पुस र आर्थिक वर्षको अन्तिम महिना गरी दुई पटक प्रतिस्पर्धा गर्दै  आएको छ । 

प्रतिस्पर्धाका लागि विभिन्न सूचक निर्धारण गरिएको छ । सफा अनुहार, सफा कपडा लगाएको, सफा हातखुट्टा, सफा दाँत तथा बालबालिकाको पोषण स्वास्थ्य अवस्थाको मूल्यांकन गरिन्छ । बिरामी हुँदा स्वास्थ्य संस्था लगेको, नियमित खोप लगाएको, अभिभावकको पोषण स्वास्थ्यबारे बुझाइ र व्यवहार, शौचालय निर्माण र प्रयोग, सरसफाइमा ध्यान दिएको, पोषणयुक्त खानेकुरा खुवाएको लगायतका सूचक तयार पारिएको छ । 

गाउँपालिकाले दुई वर्षमुनिका बालबालिकालाई सो प्रतिस्पर्धामा सहभागी गराउँदै आएको छ । शिशुजन्मेदेखि ११ महिनासम्मको बच्चाहरूलाई एउटा समूहमा प्रतिस्पर्धा गराउँदै आएको गाउँपालिकाले जनाएको छ । सो प्रतिस्पर्धामा नियमित गर्भ परीक्षण, अस्पताल सुत्केरी भएका र  उमेरअनुसार नियमित खोप लगाएका तथा नियमित वृद्धि अनुगमनमा सहभागी बच्चाहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । 

त्यस्तै अर्को समूह अर्थात १२ देखि २३ महिना उमेरअनुसारका बच्चाहरूलाई प्रतिस्पर्धा गराउँदै आएको गाउँपालिकाले जनाएको छ । सो प्रतिस्पर्धामा नियमित गर्भ परीक्षण, अस्पताल सुत्केरी भएका र पूर्ण खोप लगाएका बच्चाहरूले प्रतिस्पर्धा गर्न पाउँछन् । गाउँपालिकाले प्रत्येक वडामा वडा स्तरीय प्रतिस्पर्धामा सहभागी गराई हरेक वडामा दुई समूहका प्रथम, द्वितीय र तृतीय गरेर ६ जनालाई पुरस्कृत गर्दै आएको छ । 

गत पुसमा गाउँपालिकाको ९ वटै वडामा प्रतिस्पर्धामा १५० बच्चाहरूलाई सहभागी गराइएको थियो । सहभागीमध्ये प्रत्येक वडामा ६ जनाका दरले ५४ जना पुरस्कृत भएका थिए । गाउँपालिकाले यो कार्यक्रम सुरु गर्दा नगद पुरस्कार दिने गरेको थियो । पछिल्लो समय भने सरसफाइका सामग्रीहरू वितरण गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ । पुरस्कृत हुने बालबालिकालाई रुमाल, नैनी, साबुन, तेल, पाउडरलगायतका सरसफाइ सामग्री दिने गरिन्छ ।

पोषणलाई प्रत्यक्ष प्रभाव गर्ने मुख्य तीन क्षेत्रगत अवस्था बालबालिकाको पोषण र सरसफाइको अवस्था, बाल स्याहारप्रति अभिभावकको बुझाइ, संवेदनशीलता र व्यवहार मापनका सूचकका आधारमा मूल्यांकन गरी उनीहरूलाई पुरस्कृत गरिएको हो । 

खानपान, स्वास्थ्य जाँच, सरसफाइमा ध्यान नपुर्‍याउँदा धेरै बालबालिका कुपोषणको शिकार हुने गर्छ । मातृशिशु स्वास्थ्यमा आवश्यक लगानी र हेरचाह नहुँदा बालबालिकाको स्वास्थ्य अवस्था बिग्रँदै जाने भएको हुँदा सो प्रतिस्पर्धा आयोजना हुँदै आएको गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष ०८०/०८१ मा ३ लाख रुपैयाँ विनियोजन गरेको छ । केही रकमले पुसमा कार्यक्रम गरेको गाउँपालिकाले आगामी असारमा यसरी नै कार्यक्रम गर्ने योजना बनाएको छ ।