close

स्वास्थ्य संस्थामा शिशु जन्माउनलेलाई ५ हजार रुपैयाँ नगद

स्वास्थ्य संस्थामा शिशु जन्माउनलेलाई ५ हजार रुपैयाँ नगद

Trulli
ADVERTISEMENT

मोरङ - कटहरी गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई पाँच हजार रुपैयाँसम्म वितरण गर्दै आएको छ । गाउँपालिकाले सुरक्षित मातृत्वको लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुकलप्रसाद साहका अनुसार गर्भ रहेको ८ महिनासम्म स्वास्थ्य संस्थामा नियपमत परिक्षण गर्नेलाई दुई हजार रुपैयाँ र स्वास्थ्य संस्थामा बच्चा जन्माएमा तीन हजार रुपैयाँ गरी पाँच हजार रुपैयाँ वितरण गर्दै आएको हो । साे रकम स्वास्थ्य संस्थाबाटै वितरण हुने उनकाे भनाइ छ ।

स्वास्थ्य संस्थामा सन्तान जन्माएमा नेपाल सरकारबाट प्रदान गरिने एक हजार ८०० रुपैयाँ पनि वितरण हुने उनले पालिकाखबरलाई सुनाए । गाउँपालिकामा होम डेलिभरीको संख्या कम गर्नको लागि गत तीन वर्षदेखि सो कार्यक्रम सञ्चालन हुँदै आएको उनको भनाइ छ । 

गाउँपालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्वास्थ्य संस्थामा डेलिभरी हुनेको संख्यामा बृद्धि हुनका साथै आमा र बच्चाको स्वास्थ्यमा समेत सुधार भएको उनको अनुभव छ। 

'पहिलेको तुलनामा स्वास्थ्य संस्थामा डेलिभरी र परिक्षण गराउनको संख्यामा बृद्धि भएको छ,' उनले पालिकाखबरसँग भने, 'विगतको तुलनामा करिब स्वास्थ्य  संस्थामा डेलिभरी हुनेको संख्या ४२ प्रतिशतले बृद्धि भएको छ ।' 

सुत्केरी भएको २४ घण्टासम्म स्वास्थ्य संस्थामा आवश्यक परिक्षण हुने उनले बताए । थप उपचारको लागि चिकित्सकसहितको टोलीसहित तीन दिन र सात दिनमा आमा र शिशुको स्वास्थ्य परिक्षणको लागि घरमै जाने उनको भनाइ छ । 

गाउँपालिकामा हाल कटहरी र थलाहामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको उनले सुनाए । सो बर्थिङ सेन्टरमा आउनको लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था गाउँपालिकाले नै गरेको छ । 

कार्यक्रमको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट अपुग भएमा पुन थप गरिने उनको भनाइ छ ।