close

स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन अनलाइनबाट

स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन अनलाइनबाट

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिका (कामपा)क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ । कामपाको ३२ वटै वडामा सञ्चालनमा रहेका निजी तथा सामुदायिक अस्पताल, पोलिक्लिनिकका नाममा दर्ता भएका स्वास्थ्य संस्थाले अनलाइन प्रणालीबाट मासिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

कामपा स्वास्थ्य विभागकी महाशाखा प्रमुख जानकी सिंहका अनुसार यही हप्तादेखि एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (आइएचएमआइएस)को ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराउन थालिएको छ । युजरनेम र पासवर्डसँगै प्रणाली कसरी सञ्चालन गर्ने भन्ने विषयमा कामपा स्वास्थ्य विभागले प्रशिक्षण दिने तयारी गरेको सिंहले जानकारी दिइन् । उनका अनुसार यस विषयमा कामपाले स्वास्थ्य संस्थालाई परामर्श दिन थालेको छ । 

अनलाइन प्रतिवेदनले काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई नियमन र व्यवस्थापन गर्न सहयोग पुग्ने कामपाको विश्वास छ । केही दिनयता कामपाले स्वास्थ्य संस्थाको थप व्यवस्थापनका लागि अनुगमन तीव्र बनाइरहेको छ ।