close

हरेक हप्ता वडा/वडामा डाक्टर

हरेक हप्ता वडा/वडामा डाक्टर

Trulli
ADVERTISEMENT

गोरखा– गाउँपालिकाको सिमित स्रोत साधन । त्यसमा पनि दक्ष जनशक्ति बस्न नमान्ने समस्या । यस्तै समस्या भोग्दै आएको भिमसेनथापा गाउँपालिकाले सिमित स्रोत साधनका बाबजुद स्थानीयलाई स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ । 

गत आर्थिक वर्षदेखि गाउँपालिकाले चिकित्सकमार्फत सेटलाइट क्लिनिक सञ्चालन गरेर प्रत्येक वडामा चिकित्सक सेवा उपलब्ध गराउँदै आएको हो । गाउँपालिकाको अस्पतालका डाक्टरले प्रत्येक वडाका स्वास्थ्य चौकीमा पुगेर सेवा दिँदै आएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले बताए । 

उनका अनुसार गाउँपालिकामा एउटा अस्पताल छ । शहीद स्मृति आधारभुत अस्पाताल गाउँपालिकाभित्र रहेको अस्पताल हो भने डा. सुदन अधिकारी गाउँपालिकाका एक्लो डाक्टर हुन् । 

डा. अधिकारीले गाउँपालिकाको प्रत्येक हप्ता एउटा स्वास्थ्य चौकीमा गरि गाउँपालिकाका ८ वटै वडाका स्वास्थ्य चौकीमा पुगेर सामान्य स्वास्थ्य जाँच तथा अस्पतालमा ‘रेफर’ गर्दै आएका छन् । 

प्रत्येक हप्ता एउटा स्वास्थ्य चौकीमा पुग्दा प्रत्येक २ महिनामा सबै वडामा चिकित्सकमार्फत सेटलाइट क्लिनिक सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख खनालले बताए । 

यसअघि अस्पतालमा दुई जना डाक्टर कार्यरत रहेपनि गाउँको अस्पतालमा काम नगर्ने भन्दै छाडेकाले स्थानीयलाई सेवा दिन समस्या रहेको उनले बताए । उनले भने, ‘दुई जना डाक्टर भएको भए एक महिनामा सबै वडामा सेवा दिन सकिन्थ्यो । एक जना मात्र भएर सबै पालिकामा पुग्न दुई महिना लाग्छ ।’

यस्तै गाउँपालिकाले गत आर्थिक वर्षबाटै एक महिनामा एउटा वडामा निःशुल्क आँखा जाँच तथा उपचार सेवा उपलब्ध गराउँदै आएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख खनालले भने, ‘आँखासम्बन्धि सेवा सञ्चालन गर्न जिल्लाकै लायन्स आँखा सेवा केन्द्रसँग सम्झौता गरेका छौँ ।’