close

अचारबाट आम्दानी गर्दै अधिकारी

अचारबाट आम्दानी गर्दै अधिकारी

Trulli
ADVERTISEMENT

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुकी सरस्वती लोहनी अधिकारी अचार बिक्रीवितरण गरेर तीन वर्षमा रु ५० लाखभन्दा बढी आम्दानी गर्छिन् । आफ्नै घरमा  अचार उत्पादन सुरु गरेकी उनले नेपाल र विदेशसम्म अचार बेच्छिन् । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने उनी उदाहरण बनेकी छिन् । 

काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुमा  ‘माई पिकल हाउस’ सञ्चालन गर्दै आएकी उनले कोरोना महामारीको समयबाट अचार उद्योग सञ्चालन गरेकी हुन्। तारकेश्वर उज्वल महिला समूहको सचिव भएको समयमा नगरपालिकाले दिएको अचार बनाउने तालिममा सहभागि भएपछी अचार बनाउन थालेकी हुन् । अधिकारी अहिले त्यही महिला समूहको सल्लाहकार गर्छिन् । 

“नगरपालिकाले हामीलाई तालिम दिएसँगै अचार बनाउन अग्रसर गर्यो, सुरुमा बाध्यताले मसहित पाँचजना मिलेर अचार उद्योग सञ्चालन गयौँ, पछि उद्योगको भविष्य राम्रो देखेर एक्लैले उद्योग सञ्चालन गरेकी हुँ,” उनले भनिन् । 

तनहुँ घर र नुवाकोट माइती भएकी अधिकारी विगत २२ वर्षदेखि श्रीमान् राम अधिकारीले काठमाडौँको बागबजारमा सञ्चालन गरेको ‘बिआर प्रिन्टर प्रेस’को  काम गर्दै आएकी छिन् । अचार बनाउने तालिम लिएसँगै छापाखानाको काम छाडेर हाल आफ्नै अचार उद्योगमा व्यस्त छिन् । उनले अचार उद्योग सञ्चालन गर्न परिवारको समेत राम्रो साथ र सहयोग पाएको बताइन्।

अचार उद्योगबाट छ जनालाई रोजगारी दिँदै आएकी उनले धेरै उत्पादन हुने समयमा कामदार थप्छिन् पनि ।  ५० हजार  रुपैयाँ लगानी गरेर मेसिन, भाँडाकुँडा, ढकतराजु र अचारलाई आवश्यक पर्ने सामाग्री खरिद गरेर एउटा कोठाबाट सञ्चालन गरिएको उक्त उद्योग हाल ६ कोठामा सञ्चालनमा छन् ।

मिक्स अचार, टिमुरको छोप र मेथीको टुसाको अचारबाट सुरु भएको उक्त उद्योगमा हाल १५ किसिमका अचार उत्पादन हुँदै आएको अधिकारी बताउैछिन् । हाल उक्त उद्योगमा मिक्स, टिमुर, मेथी, आँप, अकबरे, लप्सी, कागती, मुला, करेला, गुन्द्रूक, भट्टमास, सिद्रा, टिमुर मिक्स, सिद्रामाछा, काँक्रो र तामाका अचार उत्पादन हुन्छन् । माई पिकल हाउसमा उत्पादित अचार हाल  काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन बिक्रिवितरण हुँदै आएको छ । नेपालबाहेक अष्ट्रेलियामा बढी अचार बिक्रि हुने गरेको छ । यस्तै, क्यानडा र अमेरिकामासमेत अचार निर्यात गर्ने गरेको अधिकारीले बताइन् । 

 वैदेशिक रोजगार र अन्य कामका लागि विदेश जाने नेपालीले उद्योगमै आएर अचार लैजाने गरेको उनको भनाइ छ ।