close

जुम्ला-डोल्पा जोड्ने ४४ किलोमिटरमध्ये १० किलोमिटर स्तरोन्नति​​​​​​​

जुम्ला-डोल्पा जोड्ने ४४ किलोमिटरमध्ये १० किलोमिटर स्तरोन्नति​​​​​​​

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्ला हुँदै डोल्पा जोड्ने बहुवर्षीय सडकको स्तरोन्नति हुने भएको छ । जुम्लाको पूर्व दानसाँघु पक्की पुल हुँदै डोल्पा जोड्ने सडकको स्तरोन्नति गरिने भएको हो ।


बहुवर्षीय ठेक्काका आधारमा सडक सुधार अघि बढाउने तयारी छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयबाट ३३ करोड ४० लाख रुपैयाँ बजेट स्वीकृत भएको हो । 

 

३३ करोड रुपैयाँको बजेटले जुम्ला हुँदै डोल्पा जोड्ने ४४ मध्ये १० किलोमिटर सडकको मात्रै स्तरोन्नति हुने पूर्वाधार कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलले बताए ।

 

उनले भने, ‘बजेट ३३ करोड ४० लाख रुपैयाँ देखिए पनि बहुवर्षीय योजनामा यो थोरै हो । बजेटअनुसार कार्यावधि २ वर्ष हुनुपथ्र्यो । तर, पञ्चवर्षीय योजनामा ३३ करोड रुपैयाँ धेरै कम हो ।’


जुम्ला, दानसाँघु, चोत्रा काइगाउँ हुर्दै डोल्पा जोड्ने बहुवर्षिय सडकको १० किलोमिटर मात्रै ५ वर्षमा स्तरोन्नति हुनेछ । एकै वर्षमा ५/६ करोड बजेटको खर्च गरे पनि ५ वर्षसम्म ३३ करोड रुपैयाँ बजेट नपुग्ने रावलले बताए ।


‘पटक-पटक स्टिमेट गरी पठाएको बजेट स्वीकृत हुन सकेन । तर, बल्तल्ल यस पटक ३८ करोडको स्टिमेट गरे पनि ३३ करोड रुपैयाँ स्वीकृत भएको छ । यो बजेटले ५ वर्षमा १० किलोमिटर सडक ग्राभेल एवं ४-५ सय मिटर सडकमा आरसीसी र नाला निर्माण गरिनेछ’, रावलले भने ।


काम गर्नुपर्ने धेरै, बजेट थोरै हुने पाएपछि बहुवर्षीय योजना प्रभावित हुने गरेको रावलले उल्लेख गरे । जुम्ला-डोल्पा जोड्ने सडकको १० किलोमिटर सडक ५ वर्षमा ग्राभेल भए पनि बाँकी सडक खण्ड कहिले निर्माण हुने कुनै टुंगो छैन ।


बहुवर्षीय योजनामा पर्याप्त बजेट नभएकै कारण कर्णालीको पूर्वाधार विकासले गति लिन नसकेको पूर्वाधार कार्यालयका प्रमुख रावलले दाबी गरे । 


जुम्ला-डोल्पा सडक स्तरोन्नतिका लागि स्वीकृत भएको ३३ करोड ४० लाख रुपैयाँको बजेटले लक्ष्यअनुसार काम हुन नसक्ने देखिन्छ । अघिल्लो पटक जुम्ला-डोल्पा सडक सुधारका लागि ९९ करोड रुपैयाँको स्टिमेट पठाउँदा मन्त्रालयबाट स्वीकृत हुन सकेन ।

 

तर, यस वर्ष कानुनमन्त्री नरेश भण्डारीको पहलमा पूर्वाधार कार्यालयमा ताकेता गरिएपछि ३३ करोड स्वीकृत भएको छ । आउने वैशाख, जेठबाट काम सुरु गर्ने पूर्वाधार कार्यालयले बताएको छ ।