close

लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरको वडा नं १३ कुसुन्तीको चक्रपथमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुलको शिलान्यास भएको छ । एकान्तकुना यातायात कार्यालयबाट सातदोबाटोतर्फ करिब पाँच मिटरको दूरीमा बन्न लागेको यो आकाशे पुलमा सडकको दुवैतर्फ लिफ्ट हुनेछ ।

ललितपुर महानगरपालिकाको रु चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ को लागतमा निर्माण सम्पन्न हुनेछ । एक वर्षभित्र निर्माण सम्पन्न हुने उक्त अपाङ्गमैत्री आकाशे पुलको महानगर प्रमुख चिरीबाबु महर्जनले आज विशेष पूजासहित शिलान्यास गरेका हुन् । 

आकाशे पुल निर्माणका लागि निर्माण व्यवसायी लामा/प्रगति/मणि/बुद्ध जेभीले महानगरसँग फागुन २० गते सम्झौता गरी २१ गतेदेखि १२ महिनाभित्र काम सम्पन्न गर्नेगरी ठेक्कामा लिएको महानगरका वरिष्ठ डिभीजनल इञ्जिनीयर प्रदीप पौडेलले जानकारी दिए । यो आयोजनाको परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेड रहेको छ । पुलको पाँच वर्षसम्मको मर्मतसम्भार निर्माण व्यवसायीले नै गर्नु पर्नेछ । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गनुहुँदै महानगर प्रमुख महर्जनले महानगरपालिकाले नयाँ नौलो काम गर्न रुचाउने बताउदै यो सम्भवतः नेपालमै पहिलो भएको बताए । 'यो क्षेत्रमा दुर्घटना भएर १७ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । महानगरवासीलाई बचाउनका लागि यो काम गर्न धेरै मेहनत गर्नुप¥यो । अब पुल निर्माणका क्रममा  कुनै पनि तहबाट बाधा व्यवधान हुँदैन भन्ने प्रतिबद्धता जनाउँछौँ । निर्माण व्यवसायी, परामर्शदाताबाट पनि यो काममा कुनै विलम्ब नहोस्', प्रमुख महर्जनले भने । 

'कुनै पनि आयोजना समयमा सम्पन्न नहुने गरेका कारण नेपालमा ठेकेदारप्रति नकारात्मक धारणा रहेको भन्दै त्यस्तो यहाँ नहोस्,' उनले भने । उनले आयोजना निर्माणमा सुरक्षा पहिलो प्राथमिकता भन्ने सिद्धान्तमा आधारित रहेर काम गर्न आग्रह गरे । प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा गुणस्तरमा कुनै हालतमा पनि सम्झौता गर्नुहुदैन भन्दै यसका लागि निर्माण कम्पनी, परामर्शदाता र यसमा संलग्न इञ्जिनीयरले ध्यान दिने विश्वास व्यक्त गरे । 

उनले निर्माणका क्रममा आइपर्ने समस्या समाधान गर्न स्थानीयको सहयोग अपरिहार्य छ भन्दै निर्माणका क्रममा सहजीकरणका लागि आग्रह गरे । ललितपुर खण्डमा पर्ने चक्रपथको सात दशमलव नौ किमी सडकमा स्मार्ट स्याटेलाइट जडानका लागि ठेक्का आह्वान भई छनोटको चरणमा रहेको बताउँदै महानगर प्रमुख महर्जनले एक वर्षभित्र जडान सम्मान हुने बताए। 

वडा नं १३ का अध्यक्ष गणेश केसीले चार वर्षको प्रयासपछि यो पुल निर्माणका लागि सडक विभागबाट भदौ ११ गते स्वीकृत पाएको बताउँदै यो क्षेत्रमा हुने सडक दुर्घटनाको जोखिम रोक्न लगातार काम गरेर समयअगावै सम्पन्न गर्न आग्रह गरे । 

परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयोजनाका डिजाइनर विनोद न्यौपानेले सहरलाई सौन्दर्यीकरण हुनेगरी पुलको डिजाइन गरिएको बताए । निर्माण व्यवसायी लामा प्रगति–मणि बुद्ध जेभी सञ्चालक चन्द्रबहादुर लामाले निर्माण व्यवसायीले चाहेरभन्दा पनि स्थानीयको समन्वय र सहकार्यका कारण निर्माण सम्पन्न छिटो हुने बताए । उनले परामर्शदाताकोतर्फबाट कुनै परिवर्तन भएन र स्थानीयकोतर्फबाट कुनै बाधा अवरोध भएन भने समयभित्रै काम सम्पन्न हुन्छ भन्ने प्रतिबद्धता व्यक्त गरे । 

महानगरले बजेटको अभाव नहुने गरी सम्झौताअनुसारको रकम समयमा नै उपलब्ध गरायो भने गुणस्तरमा सम्झौता नगरी निर्माण सम्पन्न गरेर आयोजना हस्तान्तरण गर्ने उनले बताए ।