close

मध्यबिन्दुकाे ३ सय १५ बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याइँदै

मध्यबिन्दुकाे ३ सय १५ बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याइँदै

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाका ४ वटा वडामा सिँचाइ हुने गरी सिँचाइ नहर निर्माण सुरु भएको छ । मध्यबिन्दुको वडा नम्बर ७ चोरमारामा करिब साढे ५ करोड रुपैयाँको लगानीमा सिँचाइ बाँध तथा पक्की कुलो निर्माण सुरु भएको हो । 

 

मध्यबिन्दुको वडा नम्बर ५, ६, ७ र ८ मा करिब ३ सय १५ बिघा जमिन सिँचाइ हुने गरी नहर निर्माण सुरु गरिएको हरियाली कृषक सिँचाइ तथा जल उपभोक्ता समितिको पानी व्यवस्थापन उपसमितिका अध्यक्ष जीवलाल भुसालले बताए । 

 

गण्डकी प्रदेश सरकारको सहयोगमा ५ करोड ५० लाख रुपैयाँको लागतमा बाँध तथा कुलो निर्माण भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नवलपुरका प्राविधिक तोयानाथ आचार्यले बताए । 

 

८ करोड ८० लाख रुपैयाँको अनुमानित लागतसहित टेन्डर आह्वान गरिए पनि ५ करोड ५० लाख रुपैयाँमा टेन्डर स्वीकृत भई निर्माण सुरु भएको आचार्यको भनाइ छ । 

 

‘आयोजनाको अहिले २५ देखि ३० प्रतिशत काम सकिएको छ । निर्माणाधीन बाँध तथा नहर आर्थिक वर्ष २०७८/७९ भित्र निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ’, प्राविधिक आचार्यले भने ।

 

 
आयोजनाअन्तर्गत अहिले सिँचाइ व्यवस्थापनका लागि गिरुवारी खोलामा ६० मिटर लम्बाइ र ३५ मिटर चौडाइको बाँध निर्माण भइरहेको छ भने ३ सय ८० मिटर पक्की नहर निर्माण जारी छ । 

 


३ सय ८० मिटर पक्की नहरमध्ये अहिलेसम्म २ सय ९० मिटर नहर निर्माण भइसकेको भुसालले जानकारी दिए । 

 

कतिपय क्षेत्रमा अकासे पानीको भर पर्नुपर्ने र कतिपय क्षेत्रमा कच्ची कुलोबाट सिँचाइ गरिँदै आएकामा पक्की सिँचाइ नहर बनेसँगै यहाँका किसानलाई मौसमी तथा बेमौसमी खेतीका साथै व्यावसायिक रूपमा तरकारी खेती गर्नसमेत सहज हुनेछ ।