close

मेसिनबाट सडक कोतर्न मस्र्याङ्दीले लगायो रोक

मेसिनबाट सडक कोतर्न मस्र्याङ्दीले लगायो रोक

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको मस्र्याङ्दी गाउँपालिकाले कुनै पनि सडक योजनाको निर्माण गर्दा मेसिन प्रयोग गर्न नपाइने निर्णय गरेको छ । बिहीबार बसेको गाउँकार्यपालिका बैठकले सडक निर्माणको योजनामा डोजर, एक्जाभेटरलगायत कुनै पनि मेसिन प्रयोग गर्न नपाइने निर्णय गरेको हो । 

 

गाउँपालिकाले जेठ, असार, साउन र भदौमा सडक योजना निर्माणमा मेसिन प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । यो ४ महिनामा अत्यधिक वर्षा हुने हुँदा बाढीपहिरोको उच्च जोखिम बढ्ने भएकाले सडक निर्माण योजनामा मेसिनलगाउन रोक लगाइएको उनले जानकारी दिए । 

 

अविरल वर्षासँगै बाढीपहिरो आउने अत्यधिक सम्भावना रहेकाले गाउँपालिकालाई प्राकृतिक विपद्बाट जोगाउन यस्तो निर्णय गरेको गुरुङले बताए । जथाभावी मेसिन प्रयोग गरेर सडक खन्दा बाढीपहिरोको उच्च जोखिम भएकाले गाउँकार्यपालिका बैठकले बर्खाको समय मेसिन प्रयोग गर्न नदिने निर्णय गरेको उनले जानकारी दिए । 

 

चालू आर्थिक वर्षदेखि सडक निर्माण योजनामा कम्तीमा ५ प्रतिशत वायो इन्जिनियरिङका लागि बजेट व्यवस्थापन गरी लागत स्टिमेट तयार गर्नुपर्ने निर्णय भएको छ ।

 

कुनै पनि सडक निर्माण गर्नुपूर्व उक्त ठाउँको प्राविधिक र भौगोलिक अध्ययन गरेर मात्र काम अगाडि बढाउने सके भोलिका दिनमा कुनै पनि क्षति बेहोर्न नपर्ने भएकाले कम्तीमा ५ प्रतिश वायो इन्जिनियरिङका लागि छुट्याएर लागत स्टिमेट गर्न प्राविधिकलाई निर्देशन गरिएको छ ।

 

पालिकाले भदौसम्म सबै योजनाको टेन्डर निस्कासन गरिसक्ने र १५ भदौभित्र अन्य गाउँपालिकाको समन्वयमा प्राविधिकलाई तालिम प्रदान गर्ने समयसीमा तोकेको छ ।

 

यसैगरी गाउँकार्यपालिका बैठकले चालू आर्थिक वर्ष २०७८-७९ को योजनाको काम तत्कालै सुरु गर्ने निर्णय गरेको छ । बैठकले समयमै तोकिएकै मितिमा काम सक्न समयसीमा तोकेरै तत्काल योजनाको काम सुरु गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए ।

 

बैठकले गत आर्थिक वर्ष २०७७-७८ को समीक्षा गर्दै २० बुँदे निष्कर्ष निकालेको छ । भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्ने समयसीमा तोकेको छ ।
१५ असोजभित्र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिने र १५ पुसभित्र प्राविधिक स्टिमेट तयार पारिसक्ने निर्णय गरेको छ ।

 

१५ माघसम्म सबै योजना सम्झौता गरिसक्नुपर्ने र वैशाख मसान्तसम्म सबै योजना निर्माण गरिसक्नुपर्ने समयसीमा तोकेको छ ।  जेठ मसान्तभित्र सबै योजनाको भुत्तानी गरिसक्ने निर्णण गरिएको अध्यक्ष गुरुङले बताए ।

 

गाउँपालिकाले चालू आर्थिक वर्षमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर योजना निर्माण गरेको जनाएको
छ ।