close

१ कराेड ८० लाखमा स्नानसहितकाे शाैचालय बनाउँदै बुटवल सरकार

१ कराेड ८० लाखमा स्नानसहितकाे शाैचालय बनाउँदै बुटवल सरकार

Trulli
ADVERTISEMENT

रुपन्देही  -  बुटवल उपमहानगरपालिकाको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय निर्माण हुने भएको छ । टाढाबाट आउने यात्रुहरुको सहजताको लागि उपमहानगरपालिकाले स्नानगृहसहितको सुविधासम्पन्न शौचालय निर्माण गर्न लागेको हो । 

एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सो शौचालयका शिलान्यास गरेका थिए । उनले १ करोड ८० लाख ८४ हजार लागतमा सो शौचालय निर्माण हुन लागेको पालिकाखबरलाई बताए । 

उनले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उदेश्यका साथ योजना अगाडि बढाएको बताए। उनल बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए।

उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिन आग्रह गरे ।   बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने उनको भनाइ छ ।

उनले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताए । नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको उनले बताए ।

३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले बताए । वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने बताए ।

आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताए ।