close

अक्षते–सुल्डाँडा–लेखानी सडक २० वर्षपछि स्तरोन्नति हुँदै

अक्षते–सुल्डाँडा–लेखानी सडक २० वर्षपछि स्तरोन्नति हुँदै

Trulli
ADVERTISEMENT

बागलुङ– सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् ।

तर अब भने विसं २०६० मा जनसहभागिता ट्र्याक निर्माण गरिएको अक्षते–सुल्डाँडा–लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो । बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो । 

काठेखोला–१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।

सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्न सकिने अध्यक्ष कँडेलले बताए । अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्छ ।

‘ट्र्याक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुनसकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइसकेको छ,’ अध्यक्ष कँडेलले भने । 

स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम  हुनेछ ।  बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो । ‘बर्खामा बढी समस्या हुने, ठाउँ–ठाउँमा पहिरोले सडक भत्किँदा यातायात ठप्प हुने गथ्र्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै सञ्चालन गर्दै आएका थियौँ,’ उनले भने, ‘अबको बर्खामा सहज हुने आशा गरेका छौँ । अबको डेढ दुई वर्षमा सडक स्तरोन्नति हुने छ ।’