close

ठाडो खोलाबाट विद्युत निकाल्ने योजनामा चामे गाउँपालिका

ठाडो खोलाबाट विद्युत निकाल्ने योजनामा चामे गाउँपालिका

Trulli
ADVERTISEMENT

मनाङ– चामे गाउँपालिकाले पालिकाभित्र नै विद्युत उत्पादन गर्ने भएको छ । पालिकामा रहेको ठाडो खोलाबाट गाउँपालिकाले विद्युत निकाल्ने योजना बनाएको हो । 

सो कामको लागि गाउँपालिकाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र १ मेगावाटको लघु जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाउने उल्लेख गरेर डिपिआर तयार गरेको हो । बहुवर्षे आयोजनाको रुपमा लघु जलविद्युत आयोजना सञ्चालन गर्ने पालिका अध्यक्ष घलेले बताए । 

डिपिआरअनुसार लघु विद्युत आयोजना निर्माणका लागि १९ करोड रुपैयाँ लागत लाग्ने देखिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नम नारायण मल्लले पालिकाखबरलाई बताए । आयोजना सम्पन्न गर्न करिब ४ वर्ष लाग्ने डिपिआरमा उल्लेख छ । डिपिआरको प्रतिवेदन अनुसार ८६० किलोवाट विद्युत उत्पादन गर्न सकिने देखिएको उनले बताए । 

लघु विद्युत आयोजना सञ्चालनको लागि राष्ट्रिय योजना आयोगसँग बजेट माग गर्न लागिएको पालिका अध्यक्ष घलेले बताए । उनका अनुसार राष्ट्रिय योजना आयोगलाई समपुरक अनुदानमार्फत बजेट माग गर्न लागिएको हो । उनले भने, ‘राष्ट्रिय योजना आयोगले समपुरक योजनाको लागि योजनाको माग गरेको छ । त्यसमा हामीले लघु जलविद्युत आयोजनाको माग गरेका छौँ ।’ 

आयोगको बजेट आएपछि आगामी वर्षबाट पालिकाले बजेट थप गरेर आयोजना सञ्चालनका लागि काम सुरु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले बताए । पालिकामा राष्ट्रिय प्रसारण लाइन पुगिसकेपनि विद्युतको सुविधा राम्रो नभएको उनले सुनाए  । उनले भने, ‘अहिले माइक्रो हाइड्रोमार्फत विद्युतको खपत भइरहेको छ । त्यो हावाहुरीले पोल ढल्ने जस्ता समस्याहरु परिरहन्छ ।’ 

पालिकामा उत्पादन हुने विद्युतको पालिकामा खपत गर्ने र बाँकी राष्ट्रिय प्रसारण लाइनमा पठाउने योजना रहेको उनले बताए । आयोजना सञ्चालनमा ल्याउन सकेमा स्थानीयलाई विद्युतको समस्याबाट छुटकारा दिलाउन सकिने तथा गाउँपालिकाको लागि आर्थिक स्रोत बन्ने विश्वास उनले व्यक्त गरे ।