close

कोरोना बीमा भुक्तानी : बीमा समिति भन्छ सरकारले ११ अर्ब दिनुपर्छ, सबै दिन नसकिने अर्थ मन्त्रालयको जवा

कोरोना बीमा भुक्तानी : बीमा समिति भन्छ सरकारले ११ अर्ब दिनुपर्छ, सबै दिन नसकिने अर्थ मन्त्रालयको जवा

Trulli
ADVERTISEMENT

काठमाडौं– कोरोना भाइरसबाट सङ्क्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष बित्दा पनि अझै भुक्तानी हुन सकेको छैन । सरकारले उपलब्ध गराउनुपर्ने झण्डै ११ अर्ब रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी छ । बीमा कम्पनीहरुले प्रिमियम बापतको साढे तीन अर्ब रुपियाँ बराबरको कोरोना बीमा भुक्तानी गरे पनि बाँकी रहेको ११ अर्ब रकम सरकारले तिर्नुपर्ने अधिकारी बताउँछन् ।

 

अर्थ मन्त्रालयले बीमाको ‘सिद्धान्तभन्दा बाहिर गएर’ बीमा रकम भुक्तानी गर्ने निर्णय गरिएका कारण समस्या परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अहिले मन्त्रालयमा कोरोना बीमा भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । ‘सरकारले मात्र ११ अर्ब बीमा भुक्तानी गर्न सक्दैन । यसकारण कसरी यो रकमलाई व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’ उनले भने  ‘यसमा बीमा समितिले कति तिर्ने, बीमा कम्पनीले कति तिर्ने ? यो विषयमा छलफल जारी छ ।’सरकारको भागमा पर्ने रकम उपलब्ध गराइने शाक्य बताउँछन् । तर अहिलेकै अवस्थामा ११ अर्ब रुपिया सबै सरकारले उपलब्ध गराउन नसक्ने उनी  बताउँछन्  । तर, बीमा समितिले भने ढिला भए पनि बीमितले पाउनुपर्ने भुक्तानी प्राप्त गर्ने जनाएको छ ।

 

बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारले कोरोना भुक्तानीको रकम उपलब्ध नगराएकाले समस्या भइरहेको बताए । बीमा समिति,बीमा कम्पनी,पुनर्विमा कम्पनीहरुmले प्रिमियम बापतको साढे तीन अर्ब रुपियाँ भुक्तानी गरिसेको उनी बताउँछन् । साढे तीन अर्ब बढीको भुक्तानी सरकारले गर्ने भन्ने उल्लेख नै भएकाले बाँकी रकम उपलब्ध गराउन अर्थमन्त्रालयमा दुई पटक पत्र समेत पठाइएको अधिकारी बताउँछन् । ‘कोरोना बीमा भुक्तानीको सम्बन्धमा दुईवटा नियमका आधारका कोरोना बीमा गरिएको थियो । कतिपयको एक लाखसम्मको कोरोना बीमा छ भने कतिपयको २५ हजारसम्म्को बीमा छ,अधिकारीले भन्नुभयो ‘साढे तीन अर्बसम्मको बीमा कम्पनीहरुले भुक्तान गरेकाले बाँकी रहेको रकम सरकारको भागमा छ । ’


कोरोना बीमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ । २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपियाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय भएको थियो । तर कोरोना बीमा बापत सरकारले ब्यहोर्नुपर्ने रकम ११ अर्ब ८२ करोड पुगेको छ । यो रकम कहिले भुक्तान हुन्छ, अर्थ मन्त्रालयसँग स्पष्ट जवाफ नै छैन । कोभिड महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बीमा गरे बापत एक लाख रुपियाँ दिने घोषणा बीमा कम्पनी आफैले गरेका हुन् ।


बीमा कम्पनीले महामारी फैलिएपछि भने अत्तालिएर यो योजना नै बन्द गर्न खोजे । तर सरकारले योजना बन्द नगर्न आग्रह मात्रै गरेन, बीमा कम्पनीले ब्यहोर्न नसक्ने रकम आफैले तिरिदिने वचन  दियो ।

 

बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपियाँ हुन आउँछ । अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको अधिकारीको भनाइ छ ।बाँकीलाई पनि ढिलो चाँडो कोरोना बीमा बापतको रकम उपलब्ध गाउने उहाँ बताउनुहुन्छ ।

 

बीमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बीमाको लागि स्थापना गरेको कोष अर्थात् पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको छ । जबकी कोरोना बीमा बापत सङ्कलन भएको रकम भने एक अर्ब रुपियाँ मात्रै हो ।