close

सडक ढलान तीव्र

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको ५६ लाख ६४ हजारको लागतमा ढलानको काम तीव्र बनाइएको हो । 

आगामी पुस ३० गतेभित्र सम्पन्न गर्ने गरी गत असोजमा सम्झौता भएको सडक ढलानको काम ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताए । सोही रकमले अल्छेढुङ्गाबाट अस्पतालसम्मको सडकमा बिग्रिएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने जनाइएको छ ।

यस्तै सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकमा ट्रयाक खोलिने, हेलिप्याडसम्म सडक पुर्‍याउने सम्झौतामा उल्लेख छ । 

ढलान भइरहेको सडक अनुगमनका क्रममा गुणस्तरीय रहेको वडा नं १ का वडाध्यक्ष नवराज राईले बताए  । तीव्र गतिमा ढलान भइरहेको उक्त सडक तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ । 

दिक्तेल बजारको बीचमा पर्ने सडक ढलान भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । मुख्य सडक बन्द भएपछि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयलगायत सरकारी कार्यालय आवतजावत गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो ।