close

प्रभावकारी बन्ला त ‘विकास कचहरी’ ?

प्रभावकारी बन्ला त ‘विकास कचहरी’ ?

Trulli
ADVERTISEMENT

बाजुरा– शौचालय निर्माण गर्नुअघि कति तयारी गछौँ । सबैभन्दा पहिला त  लागत अनुमान गर्नुपर्यो । शौचालय बनाउने ठाउँ उपयुक्त छ कि छैन? पानीको व्यवस्थापन गर्न कत्ति सहज छ ? सेफ्टी ट्यांकी कहाँ बनाउने ? जनशक्ति कहाँ पाइन्छ ? आवश्यक सामाग्री कसरी जुटाउने ? लगायत पूर्वयाेजना बनाउँछाैँ । 

यसरी निजी कामकाे लागिसमेत  हामी पूर्वयोजना बनाउँछौँ भने विकास निर्माणजस्ता सार्वजनिक सरोकारका विषयमा झनै पूर्वतयारी, दीर्घ योजना, लागत र सम्भावित जोखिमबारे अध्ययन तथा बहस गर्नु आवश्यक छ । कुनै पनि विकास निर्माण गर्नुछ भने त्यसको लागि जनताको आवश्यकता, बजेट, गुणस्तरीयताका लागि प्राविधिक स्टीमेट गर्नुपर्ने हुन्छ । 

बाजुराको बुढीगंगा नगरपालिकाले आफ्नो पालिकामा विकास निर्माण गर्नुअघि जनताको आवश्यकता, विज्ञहरूको सल्लाह र लगानी दाताको लगानी तयार गर्ने भएको छ । पालिकाले उनीहरूबीच वृहत छलफल गरेर आगामी १०/१५ वर्षका लागि विकास योजना बनाउने भएको छ । सो कामको लागि नगरपालिकाले ‘विकास कचहरी’को अवधारणा अघि सारेको छ । 

पालिकाको विकास दूरदर्शिता, जनताको वास्तविक आवश्यकता र दिगोपनका लागि विकास कचहरी सञ्चालन गर्न नगरपालिकाको वास्तविक अवस्था समेटेर कार्यपत्र तयार गरिरहेको नगरप्रमुख रामबहादुर बानियाँले बताए । उनले पालिकाखबरसँग भने, ‘कार्यपत्र तयार भएपछि माघको अन्तिम वा फागुनको पहिलो साताभित्र विकास कचहरी सञ्चालन गर्छौँ ।’ 

विकास कचहरी दुई तीन दिनसम्म चल्ने उनले सुनाए । जहाँ चरणबद्ध रुपमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार क्षेत्रको विकासमा नगरपालिकाको अवस्था कस्तो छ भनेर छलफल हुनेछ भने ती क्षेत्रहरुको विकास कसरी र के गरेर गर्ने भन्ने विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने नगरप्रमुख बानियाँले बताए । लगानी दाताहरुलाई लगानी गर्ने वातावरण तयार गर्नुका साथै विकासका लागि आर्थिक स्रोतको समेत खोजी गरिने छ । 

विकास कचहरीबाट नगरपालिकाले आगामी १०/१५ वर्षमा हिड्ने बाटो तय गर्न सकिने उनको दाबी छ । बाजुरा जिल्लाकै राजनीतिक व्यक्तिलाई राजनीति नभई विकास गर्न एकजुट गर्नको लागि समेत विकास कचहरी प्रभावकारी हुने उनको विश्वास छ । 

विकास कचहरीमा विज्ञ, लगानी दाता, राजनीतिक व्यक्ति र स्थानीयहरुको सहभागिता रहने उनले बताए । ‘राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लगानी बोर्डको सिइओ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व, जिल्लाको राजनीतिक नेतृत्वमा रहेका व्यक्तिलाई पालिकामा बोलाउँछौँ । उहाँहरुले १०/१५ वर्षपछि बुढीगंगालाई कस्तो रुपमा देख्न चाहनुहुन्छ भन्ने विषयमा छलफल गरेर विकासका लागि अवधारणा तय गछौँ,’ उनले पालिकाखबरसँग भने । 

राजनीतिकरण नभई विकासका लागि योजना बनाउन सबैको साथ र सहयोग जुटाउन विकास कचहरी आयोजना गर्ने उनले बताए । नगरपालिकालाई समृद्धितर्फ कसरी लैजाने भन्ने विषयमा आधार तय गर्न विकास कचहरी गर्न लागेको नगरप्रमुख बानियाँले स्पष्ट पारे ।